जलहरीबारे सत्तापक्ष र प्रतिपक्षबीच सहमति, प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

पालिका डायरी
१३ जेष्ठ २०८०
शीर्ष नेताहरु छलफलमा

पशुपतिनाथमा सुनको जलहरी हाल्दा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आशंका गरी सत्ता पक्षका सांसदले प्रतिनिधि सभाको बैठकमा बोलेको कुरा संसद्को रेकर्डबाट हटाउने सहमति भएको छ।

आज बिहान सिंहदरबारमा भएको छलफलमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताबीच उक्त सहमति भएको बैठकमा सहभागी एमालेका प्रमुख सचेतक पदम गिरीले सञ्चारकर्मीलाई जानकारी दिए।

साथै जलहरी हाल्ने काम पशुपति विकास कोषको भएकाले त्यसमा सुन हालियो कि पित्तल भनेर हेर्ने जिम्मा उसैको हुने र यसमा तत्कालीन प्रधानमन्त्री ओलीको कुनै संलग्नता नहुने कुरामा तीन दलका शीर्ष नेताबीच सहमति भएको उनले बताए।

यस विषयमा आज संसद्‌मा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने सहमति पनि भएको गिरीले बताए। ‘पशुपति विकास कोषले त्यस (जलहरी) को निर्माणको प्रक्रिया अघि बढाउने हो, त्यो काम पशुपति विकास कोषको हो, सरकारले बजेट छुट्याइदिने हो। यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै प्रकारको पनि संलग्नता छैन’, गिरीले भने, ‘त्यो कुरालाई चाहिँ हामीले गलत नै भनेर जानुपर्छ। यसमा सत्यता छैन भनेर प्रधानमन्त्रीज्यूले संसद्ंमा सम्बोधन गर्ने, त्यो कुरा रेकर्डबाट हटाउने सहमति नेताहरुबीच भएको छ।’

बैठकपछि एमाले सचेतक गिरीले भनेका कुरा जस्ताको तस्तै–

खासगरी सत्ता पक्षको सांसदले प्रमुख प्रतिपक्षी दलका नेतालाई इंगित गरेर जुन जलहरी निर्माणको प्रक्रियामा चैँ सुनको भनेर पित्तलको हाल्ने काम भयो भन्ने जुन आरोप लगाइयो त्यस विषयमा पनि शीर्ष नेताहरुबीच छलफल केन्द्रित भयो। सबै नेताका बीचमा साझा सहमति के भयो भने त्यो पशुपति विकास कोषले त्यसको निर्माणको प्रक्रिया अघि बढाउने हो, त्यो काम पशुपति विकास कोषको हो, सरकारले बजेट छुट्याइदिने हो।

यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै प्रकारको पनि संलग्नता छैन। हुनसक्ने कुरा पनि होइन। यो तथ्यहीन र आधारहीन कुरा संसदमा प्रस्तुत गर्दा जनस्तरमा भ्रम सिर्जना हुन्छ, त्योचाहिँ वास्तवमा गलत भएकै हो। त्यो कुरालाई चाहिँ हामीले गलत नै भनेर जानुपर्छ। यसमा सत्यता छैन भनेर प्रधानमन्त्रीज्यूले संसद्मा सम्बोधन पनि गर्ने। र, भविष्यमा यस्ता खालका तथ्यहीन र आधारहीन कुरा सदनमा माननीयज्यूहरूले अभिव्यक्त गर्ने कुरालाई पनि कम गर्ने, यस्तो नगर्ने भन्ने कोणबाट पनि छलफल भयो। प्रधानमन्त्रीज्यूले सदनमा त्यो कुरा राख्नुहुन्छ। त्यो तथ्यहीन र आधारहीन कुरा रेकर्डबाट हटाउने सहमति नेताहरुबीच भएको छ। रेकर्डबाट हटाउने सहमति नेताहरुबीच भएकाे छ।

२ अर्बको प्रसंगहरू पनि माननीयज्यूहरूले ल्याउनुभाथ्यो, त्यो विषय पनि अत्यन्तै निराधार भको हुनाले त्यो विषय पनि रेकर्डबाट हटाउने सहमति भएको छ।

प्रतिक्रिया