रेशमलाई आममाफी दिने सरकारी तयारीको सत्ता गठबन्धन दलबाटै विरोध

पालिका डायरी
१२ जेष्ठ २०८०
रेशमलाई आममाफी दिने सरकारी तयारीको सत्ता गठबन्धन दलबाटै विरोध

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टीले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीको विरोध गरेको छ।

सत्ता गठबन्धनमै रहेको जनमोर्चाका अध्यक्ष केसीले शुक्रबार विज्ञप्ति निकालेर नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीलाई आममाफी दिन सरकारले गरेको तयारीको विरोध गरेका हुन्। केसीले रेशमलाई आममाफी दिनाले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण हुने बताएका छन्।

‘टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आमनरसंहारको घटना थियो। त्यस घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिई कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रियाको जनमोर्चा विरोध गर्छ’, उनले भनेका छन्, ‘यो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी मात्रै हो। विगतमा सरकारले रवि लामिछानेको राहदानी प्रकरणमा राजनीतिक सौदाबाजी गरेर मुद्दा नचलाउने निर्णय गरेको थियो । तर त्यो सौदाबाजी सरकारलाई कति महँगो भयो? प्रस्ट छ।’

केसीले रेशम चौधरीलाई आममाफी दिन अगाडि बढाएको प्रक्रिया रोक्न माग गरेका छन्। ‘टीकापुर हत्याकाण्डका नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने छ’, उनले भनेका छन्, ‘जसको परिणाम मुलुकमा कानुनको शासन नभएर अराजकता र दण्डहीनता मौलाउने छ। त्यसैले रेशमलाई आममाफी दिन बढाइएको प्रक्रिया रोक्न सरकारसँग माग गर्दछौँ।’

प्रतिक्रिया