मानव अधिकार उल्लंघनका घटना दर्ता धेरै, न्याय न्यून

हेटौंडा / मानव अधिकार उल्लंघनका घटना दर्ता हुने क्रम बढ्दो रहेपनि पीडितले न्याय भने कमैले मात्र पाउने गरेको पाइएको छ। मानव अधिकार उल्लंघनका घटना दर्ता भएका मध्ये कम मात्र फर्छ्यौट हुने गरेको मानव अधिकार आयोग बागमती प्रदेशको तथ्यांक छ।
शुक्रबार हेटौंडामा आयोजित मानव अधिकार आयोगको २३ औं वार्षिक उत्सव समारोहमा सो कुराको जानकारी गराइएको हो।
चालु आर्थिक वर्षको हालसम्म मानव अधिकार उल्लंघनका ५० उजुरीहरू दर्ता भएको मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख सहसचिव यज्ञप्रसाद अधिकारीले बताए। यस आवमा दर्ता भएका उजुरी सहित हाल बागमती प्रदेश कार्यालयमा ६१४ उजुरी हाल विचाराधीन रहेको उनले जानकारी दिए।
यस कार्यालयले मानव अधिकारसँग सम्बन्धित नागरिक तथा राजनीतिक अधिकार, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार लगायत विषयगत अधिकार सम्बन्धमा २१ पटक अनुगमन भएको बताउँदै अधिकारीले भने, ‘पुराना र नयाँ गरी ७२ उजुरीमा अनुसन्धान सम्पन्न गरेको छ। आयोग स्थापनाको २३ वर्षमा १३ हजार १७९ उजूरी दर्ता भएकोमा हालसम्म ७ हजार ५ सय ३८ उजूरी फर्छ्यौट हुँदा १ हजार ४ सय २ वटा उजुरीउपर सिफारिस गरिएको छ।’
अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि पूर्वाधार विकास हुन नसकेको बताउँदै बागमती प्रदेशसभाबाट पारित प्रदेश निजामती ऐनले अपाङ्गता भएका व्यक्तिको आरक्षण कोटा ५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा पुर्याएको विषय संविधानको धारा ४२ र संघीय निजामती ऐनको भावना अनुकुल नदेखिएको मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख सहसचिव अधिकारीले बताए।
