कुलेखानी जलविद्युत् आयोजना नै विद्युत प्राधिकरण हेटौंडाको कालोसूचीमा

पालिका डायरी
९ जेष्ठ २०८०
कुलेखानी जलविद्युत् आयोजना नै विद्युत प्राधिकरण हेटौंडाको कालोसूचीमा

हेटौंडा / नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले आफ्नै उत्पादन युनिटलाई पनि कालोसूचीमा राखेर सूचना प्रकाशन गरेको छ । कुलेखानी जलविद्युत् आयोजनालाई प्राधिकरणले कालोसूचीमा राखेको हो ।

कुलेखानी दोस्रोको ४ हजार आठ सय ५६ रुपैयाँ र कुलेखानी तेस्रोको एक लाख ४ हजार सात सय ८९ रुपैयाँ तिर्न बाँकी देखाएको र कुलेखानी जलविद्युत् आयोजनाको दुवै युनिटलाई प्राधिकरणले कालोसूचीमा राखेको हो । कुलेखानी दोस्रो र तेस्रो आयोजनाले प्राधिकरणलाई कूल एक लाख ९ हजार ६ सय ४५ रुपैयाँ तिर्न बाँकी देखाइएको छ । कुलेखानी जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले बिक्री गरिरहेको छ ।

कालोसूचीमा रहेका ग्राहकहरूले आउँदो असार मसान्तभित्र बाँकी विद्युत् महसुल बुझाउँदा १० प्रतिशत छुट नपाइने भएको छ । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले कालोसूची रहेका ग्राहकहरूको नामावली सार्वजनिक गर्दै बाँकी बक्यौता बुझाउन आग्रह गरेको छ ।

सार्वजनिक विवरण अनुसार हेटौँडा वितरण केन्द्रको क्षेत्राधिकारभित्रका ५ सय ४२ जना ग्राहक कालोसूचीमा रहेका छन् । कालोसूचीमा परेपछि सार्वजनिक गरिएका ग्राहकहरूको तीन पुस्ते विवरणसहित जिल्ला प्रशासन कार्यालय, नापी, मालपोत, उपमहानगरपालिका, गाउँपालिका एवं वडा कार्यालयमा पठाउने तयारी भइरहेको नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले जनाएको छ ।

कालोसूचीमा रहेका ग्राहकबाट नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ अनुसार सरकारी बाँकी महसुल असुलउपर गरिनेसमेत जनाएको छ । प्राधिकरणले जारी गरेको सूचनामा साविकको भीमफेदी गाउँ विकास समितिको नाममा ५५ हजार रुपैयाँ, तत्कालीन जिल्ला विकास समितिको नाममा दुई हजार पाँच सय ५५ रुपैयाँ बक्यौता देखाइएको छ । नेपाल तामाङ घेदुङको नाममा पनि १७ हजार सातसय ५२ रुपैयाँ बक्यौता देखाइएको छ ।

२०५६ सालदेखि सञ्चालनमा आउन नसकेको र पटक-पटक लिक्वीडेसनमा गएको हेटौँडा-काठमाडौं रोपवेका नाममा प्राधिकरणले ११ लाख ६३ हजार ८ सय ९४ रुपैयाँ बक्यौता देखाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले हेटौँडा-३, बसामाडीमा सञ्चालन गरेको नवीन रिरोलिङ उद्योगको नाममा तीन लाख १० हजार आठ सय आठ रुपैयाँ बक्यौता देखाएको छ । जुन उद्योग दुई दशकदेखि बन्द भएको थियो । त्यस्तै, बसामाडीमा उद्योग स्थापना गरेको राप्ती डिहाइड्रेसनको नाममा एक लाख ४० हजार एक सय ६ रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

यसैगरी, नेपाल विद्युत् प्राधिकरणले ३ महिनाभन्दा बढी बाँकी बक्यौता रहेका ६४ जना ग्राहकबाट २१ लाख २६ हजार ६५ रुपैयाँ नतिरेको खण्डमा तत्काल लाइन काट्ने चेतावनी दिएको छ । लाइन कट्टा केन्द्रीय सिस्टमबाटै हुने गरिएकाले समयमै बाँकी बक्यौता तिर्न प्राधिकरणले सूचना गरेको छ । बक्यौता भुक्तान पश्चातमात्र लाइन पुन: जडान हुने प्राधिकरणको हेटौँडा वितरण केन्द्रका लेखाप्रमुख विष्णुलाल गिरीले जानकारी दिए । शिलापत्रबाट ।

प्रतिक्रिया