बागमतीमा आज मन्त्रिपरिषद्ले पूर्णता पाउने, ११ मन्त्रालय फुटाएर १२ बनाउने तयारी

पालिका डायरी
७ जेष्ठ २०८०
mukhyamantri kryalay bagamati

बागमती प्रदेशको मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । मन्त्री भागवण्डाको विषयमा कुरा नमिल्दा लामो सयमदेखि अधुरै रहेको मन्त्रिपरिषद्लाई आज पूर्णता दिने तयारी भएको मुख्यमन्त्रीको कार्यालय स्रोतले जनाएको छ ।

अझैपनि सत्ता सझेदार दलहरुबीच भागवण्डामा समस्या भएपछि मन्त्रालयको संख्या बढाएर भएपनि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको स्रोतको दावी छ । ११ वटा मन्त्रालय रहेको प्रदेशमा कांग्रेसले ६, माओवादीले ४ र एकीकृत समाजवादीले २ वटा मन्त्रालयमा दावी गरेपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।

प्रदेशको मन्त्रिपरिषद्मा अहिले माओवादीका मुख्यमन्त्री सहित ४ र कांग्रेसका २ जना मन्त्री रहेका छन् । यस्तै एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने तयारी भइरहेको छ ।

गएको चैत १० गते दोस्रो पटक विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ५७ दिनदेखि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका थिएनन् । उनले लामोसमयसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन नसेकपछि आफ्नो जिम्मेवारीमा रहेका ५ मध्ये ३ मन्त्रालयको जिम्मेवारी सत्ता साझेदार दल कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामालाई दिएका थिए ।

११ मन्त्रालय रहेको प्रदेश सरकारमा अहिलेसम्म ६ वटा मन्त्रालयमा मात्रै मन्त्रीहरु रहेका छन् । २ वटा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्कट्टेल र ३ वटा मन्त्रालयको जिम्मेवारी लामासँग रहेको छ । सरकारमा माओवादीका तर्फबाट ४ र कांग्रेसका तर्फबाट २ जना मन्त्रीहरु छन् ।

प्रदेश गठबन्धन तहमा पटक–पटक वार्ता भएपनि निकास निस्कन नसकेपछि प्रमुख दलका शीर्ष नेताहरुसँग बसेर भागवण्डा टुंग्याइएको हो । जेठ ४ गते प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नेताहरू बोलाएर सहमति गराएपछि बागमतीमा सरकार विस्तार हुनेभएको हो ।

आजै २ बजे हेटौंडा १० मा रहेको प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम राखिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार बागमती प्रदेशमा रहेको ११ मन्त्रालयलाई फुटाएर १२ वटा पुर्‍याउने तयारी पनि दलहरुको छ । अहिले कांग्रेसलाई ५, माओवादीलाई ४ र एकीकृत समाजवादीलाई २ वटा मन्त्रालयल दिएर जाने र बजेटपछि कुनै एउटा मन्त्रालय फुटाएर कांग्रेसको मन्त्री संख्या ६ पुर्‍याउने तयारी भएको बुझिएको छ ।

यता बागमती प्रदेशमा मुख्यमन्त्री जम्कट्टेल भने मन्त्रालय फुटाउने विषयमा असहमत छन् । तर भागवण्डा मिलउनै पर्ने भएपछि एकीकृत समाजवादीलाई एक मन्त्री र एक राज्यमन्त्री दिएर भएपनि मनाउने तयारी पनि भइरहेको स्रोतको दावी छ । कांग्रेसले ६ वटा मन्त्रालयको दावी गरेपछि एकीकृत समाजवादीले पनि २ वटा मन्त्री नपाए सरकारमै सहभागी नहुने चेतावनी दिँदै आएको छ ।

आजै मन्त्रिपरिषद् विस्तार गर्ने भनिएपनि कांग्रेस र एकीकृत समाजवादीबाट मन्त्री बन्नेहरुको टुंगो लागि सकेको छैन । दुबै दल मन्त्री छान्ने बिषयमा आन्तरिक तयारीमा जुटेका छन् ।

प्रतिक्रिया