सरकारको नीति तथा कार्यक्रममा फेरि ‘हेटौंडा कपडा उद्योग’, यसपटक होला त सञ्चालन?

हेटौंडा / राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुक्रबार संसद्मा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने विषय पनि समेटिएको छ।
त्यसो त हेटौँडा कपडा उद्योग, हरेक वर्ष सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा पर्ने गरेको छ, तर अहिलेसम्म उद्योगले पुनर्जीवन पाउन सकेको छैन। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पानामा पनि समेटिएको यो उद्योग यसपटक पनि सञ्चालन होला भन्नेमा शंका छ। सरकारको नीति तथा कार्यक्रम र बजेटमा हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने घोषणा गर्दै र बजेट विनियोजन गर्ने गरेको वर्षौं भयो। चालू आवको नीति तथा कार्यक्रम र बजेटमा पनि रुग्ण हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने घोषणा गरिएको थियो।
तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले गत साउन १२ गते उक्त उद्योगको स्थलगत अवलोकनसमेत गरेका थिए। तुरुन्तै सामानहरु फेरेर काम सुरु गरिहाल्ने प्रतिबद्धता जनाएका मन्त्री बडुले उद्योगलाई पुनर्जीवन दिन भने सकेनन्।
‘बागमती प्रदेशको राजधानी हेटौँडा ८ स्थित हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको बन्द उद्योगलाई सञ्चालन गरिनेछ’ भनेर प्रत्येक वर्षको बजेट भाषणमा भन्ने गरिएको छ। तर प्रायः सबै वर्ष बजेटको रातो किताबमा उल्लेख हुने यो विषयको चर्चा बजेट भाषण सकिएसँगै बिस्तारै हराउँदै जाने गरेको छ।
चिनियाँ सरकारको २० करोड सहयोगमा २०३२ सालमा हेटौँडा कपडा उद्योग स्थापना भएको हो। २०३५ सालबाट उद्योगले उत्पादन सुरु गरेको थियो। कपडा उद्योगमा ४८६ वटा कपडा बुन्ने तान र १४ हजार ६ सय ८८ वटा स्पिन्डल छन्। उद्योग सञ्चालन हुँदा १२ सय कर्मचारीले रोजगारी पाएका थिए।
यो उद्योग कुनै समय मकवानपुरको मात्र नभएर देशकै शान थियो। देशकै ठूलो यो उद्योगबाट उत्पादित सुती धागो, कोरा, रंगीन, बुट्टेदार र सेतो कपडा खरिद गर्न व्यवसायी तथा आम उपभोक्ताबीच तँछाडमछाड नै हुन्थ्यो। तर, २०५० सालतिर जब उद्योगमा राजनीति घुस्यो, तब उद्योगको दुर्गति सुरु भयो। ट्रेड युनियनका नाममा भएको राजनीति र सरकारमा जाने दलले आफ्ना नेता तथा कार्यकर्ताको भर्तीकेन्द्र बनाउँदा नाफामा रहेको उद्योग २०५७ सालसम्म आइपुग्दा पूर्ण रुपमा बन्द भयो।
लगातार घाटामा गएको भन्दै २०५७ फागुन १ गते तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट यो उद्योग बन्द गरियो। वि. सं. २०५९ मा सरकारले उद्योग खारेजी प्रक्रिया अघि बढायो। उद्योग बन्द भएसँगै सयौँ जनाको रोजगारी त खोसियो नै, सरकारले सबैभन्दा धेरै नाफा गर्ने, नेपाली कपडालाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्ने उद्योगको अस्तित्व माटोमा मिलायो। २०३५ माघ ५ मा सञ्चालनमा आएको उक्त कपडा उद्योग लगभग २२ वर्षपछि बन्द भयो।
२०७६ सालको बजेट भाषणमा सुरक्षा निकायको पोसाक उत्पादन गर्नेगरी नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको लगानीमा यो उद्योग सञ्चालन गर्ने घोषणा गरिएको थियो। तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले उद्योग सञ्चालन गर्न ८ करोड रुपैयाँ बजेट छुट्याएको थियो। ६ करोड रुपैयाँ खर्च गरेर त्यतिबेला उद्योग मर्मत गरियो।
२०६६ कात्तिकमा हेटौँडा कपडा उद्योगलाई दोस्रोपटक सञ्चालन गर्ने निर्णय भई प्रक्रिया अघि बढ्यो। तर उद्योगले पुनर्जीवन पाउन सकेन। औद्योगिक क्षेत्रको १९२ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगका भवन जीर्ण भइसकेका छन्। जसमा उद्योग सञ्चालन गर्न सजिलो नहुने सरोकारवाला बताउँछन्। अहिले उद्योगभित्र पानी जमेर आहाल बनेको छ। विद्युतीय प्रणाली ध्वस्त छ। मेसिनमा धागो कुहिएर बसेका छन्। मेसिनमा अड्किएका कपडा त्यहीँ सडेका छन्। बाहिरबाट हेर्दा उद्योग क्षेत्र खण्डहर देखिन्छ। उद्योग परिसरमा सशस्त्र प्रहरीको एउटा गण स्थापना गरिँदा सरसफाइमा केही सुधार देखिए पनि भवन दिनानुदिन जीर्ण बन्दै गएको छ।
पुराना मेसिन जबर्जस्ती चलाउन खोजे दुर्घटनाको सम्भावना पनि रहेको व्यवसायी नै बताउँछन्। हालको मेसिनबाट उद्योग सञ्चालन हुनै नसक्ने उद्योग संघ हेटौँडाका अध्यक्ष स्वागतराज प्याकुरेलको दाबी छ।
