क्याबिनेटले पूर्णता नपाएपछि एउटै मन्त्रीलाई ४ मन्त्रालय

पालिका डायरी
२ जेष्ठ २०८०, १२:३१
mukhyamantri kryalay bagamati

मन्त्रालयमा मन्त्री नहुँदा बजेट निर्माणमा कठिनाइ भएको कर्मचारीको गुनासोपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एउटै मन्त्रीलाई ४ वटा मन्त्रालयको जिम्मेवारी सुम्पिएका छन्।

आर्थिक वर्ष २०७९/०८०को बजेट निर्माणको चटारोमा रहेको बागमती सरकारमा अहिले ५ वटा मन्त्रालय रिक्त छन्।

एकातिर मन्त्रालय भागवण्डा मिलाउन नसकेका मुख्यमन्त्री जम्मकट्टेलले आफूले राखेका ५ मध्ये ३ वटा मन्त्रालय कांग्रेसको भागमा दिएका छन्।

५२ दिनदेखि अपूर्ण रहेको क्याबिनेटलाई पूर्णता दिनुभन्दा पनि एकै मन्त्रीलाई चारवटा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले दिएका हुन्।

बजेट निर्माणमा असहज हुने देखिएपछि रिक्त मन्त्रालयमा एकै मन्त्रीलाई चार मन्त्रालयको जिम्मेवारी दिइएको हो।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामालाई अब अर्थ मन्त्रालय सहित प्रदेशको स्वास्थ्य मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको समेत जिम्मेवारी थपिएको छ।

अर्थ मन्त्रालयसहित अब लामाको काँधमा ४ मन्त्रालयको जिम्मेवारी थपिएको हो।

लामाले ४ मन्त्रालयको भाग लिएसँगै मुख्यमन्त्री जम्मकट्टेलको काँधमा अब मुख्यमन्त्री कार्यालय सहित तीन मन्त्रालयको जिम्मेवारी छ। मुख्यमन्त्री कार्यालयसँगै जम्मकट्टेलको भागमा वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय छ।

त्यसोत, ५२ दिनदेखि अपूर्ण रहेको सरकारलाई पूर्णता दिने भन्दा पनि आन्तरिक रुपमै मिलेमत्तोमा मन्त्रालय भागवण्डा गर्नुले प्रदेश सरकार माथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ।

एउटा मन्त्रालयको भागवन्डा नमिल्दा सरकारलाई पूर्णता दिन नसकेको बागमती सरकारले एकै मन्त्रीलाई ४ मन्त्रालयको जिम्मेवारी दिएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसदहरुले आलोचना गर्नसमेत सुरु गरेका छन्।

मन्त्रालयको जिम्मेवारी लामालाई दिएसँगै अब बागमतीको सरकार विस्तारमा पनि शंका उत्पन्न भएको छ।

सरकारलाई पूर्णता दिएर आगामी आर्थिक बर्षको बजेट निर्माणलाई चुस्तदुरुस्त गर्न पर्ने बेला सरकारले नै अलमलता गर्दै समय गुजारेको भन्दै सर्वत्र आलोचना भएको हो।

११ सदस्यीय बागमती मन्त्रिपरिषद्मा हाल मुख्यमन्त्री सहित माओवादी केन्द्रका ४ र कांग्रेसका २ मन्त्री छन्।

बाँकी ५ मन्त्रालयमा कांग्रेस र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त हुने बताइएको छ।

प्रतिक्रिया