नेपालसँग पराजित भएपछि बधाई दिँदै युएई क्रिकेट बोर्डले भन्यो– हामी फेरि बलियो भएर आउनेछौं

पालिका डायरी
१९ बैशाख २०८०

युएईको क्रिकेट बोर्डले एसिया कपमा छनोट भएकोमा नेपाली टिमलाई बधाई दिएको छ । नेपालसँग युएई ७ विकेटले पराजित भएलगत्तै इमिरेट्स क्रिकेट बोर्डले सामाजिक सञ्जालमार्फत् बधाई दिएको हो ।

‘बधाई नेपाल । एसीसी प्रिमियर कपको फाइनलमा नेपाल ७ विकेटले युएईलाई पराजित गर्दै यसै वर्ष हुने एसिया कपमा छनोट भएको छ’ बोर्डले लेखेको छ, ‘हामीलाई हाम्रा खेलाडीले गरेको प्रयासप्रति गर्व छ । हामी फेरि बलियो भएर आउनेछौं ।’ वर्षाले बिथोलेको खेल दुई दिनसम्म चलेपछि नतिजामा पुगेको हो ।

नेपालले सोमबार टस जितेर पहिले फिल्डिङ रोजेको थियो । नेपालले पहिलो दिन नै हाबी भएको थियो । २७.३ ओभरमा युएईले १०६ रन बनाउँदा ९ विकेट गुमाएपछि वर्षाले खेल रोकिएको थियो । रोकिएकै स्थितिबाट खेल भए पनि अन्तिम विकेट युएईले ११७ रनको अवस्थामा गुमाउन पुग्यो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाएर उपाधि उचालेको हो । नेपालका लागि ओपनर धर्मराएको खेलमा गुल्झन झा एक विकेट झरेपछि आएका थिए । उनले ८४ बलमा ६७ र भीम सार्कीले ७२ बलमा ३६ रन बनाएपछि नेपालले सहजै फाइनल जितेको हो । नेपालले अब एसिया कममा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

फाइनलमा ललित राजवंशीले ४, करण केसी र सन्दीप लामिछानेले २/२ विकेट लिए ।

प्रतिक्रिया