उकालो लाग्दै कोरोना संक्रमण, विज्ञ भन्छन्– बुस्टर डोज लगाइहाल्नूस्

नेपालमा १५ चैतदेखि कोरोना भाइरसको संक्रमण उकालो लाग्दै गएको देखिन्छ। शून्यमा झरेको संक्रमण दर अहिले १ दशमलव २ मा पुगेको छ।
संक्रमितको संख्या बढेसँगै भाइरसविरुद्ध खोपको बुस्टर डोज (अतिरिक्त मात्रा) लगाउनेको संख्या पनि बढ्दै गइरहेको छ।
अहिले भारत र नेपालमा ओमिक्रोनका प्रजाति मिलेर बनेको नयाँ हाइब्रेट एक्सबीबी १.१६ संक्रमण बढिरहेको छ। ओमिक्रोनका लागि फाइजर ‘बाइभ्यालेन्ट’ खोप प्रभावकारी मानिने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही खोप लगाउन निर्देशन दिएको छ।
चिकित्सकका अनुसार पूर्ण मात्रा (पहिलो र दोस्रो डोज) खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउनुपर्छ। र, पहिलो बुस्टर लगाएको ६ महिनापछि दोस्रो बुस्टर डोज लगाउनुपर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।
‘कोरोना भाइरसले निम्त्याउन सक्ने जटिलताबाट बच्न त्यसविरुद्धको खोप लगाउनपर्छ’, डा. अधिकारीले भने, ‘त्यसैले संक्रमणको जोखिमबाट जोगिन बुस्टर डोज लगाइहाल्नुपर्छ।’