शक्तिको भुलभुलैयामा परेका रविको अर्को परीक्षा

पालिका डायरी
१३ बैशाख २०८०
रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादमा काठमाडौं प्रहरीले थाल्यो अनुसन्धान file photo

गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक पार्टीको एकाधिकार तोड्दै वैकल्पिक राजनीतिक दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भयो।

जनताले रास्वपालाई मात्रै होइन, पुराना दललाई ठूलो चुनौती दिँदै मधेसमा भर्खरै हुर्किएका जनमत र सुदूरपश्चिममा उन्मुक्ति पार्टीलाई संसद्‌को बाटो देखाइदिए। ठूला र पुराना भनिएका दलहरूले जनताले परिवर्तन खोजेको र अब आफू सच्चिनुपर्ने बताए। तर त्यसो भएन, पुराना दलहरू त पुरानै सत्ता रस्साकस्सीको खेलमा होमिए।

पुराना दल सँगसँगै नयाँ दल पनि सरकार बनाउन र भत्काउनमै क्रियाशील भए। सुशासनको लोकप्रिय नारा दिएर संसद्‌मा चौँथो शक्ति बनेर उदाएको रास्वपा पनि सरकारको भुलभुलैयमा बदनाम भयो।

टेलिभिजन पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा आएका रास्वपा सभापति रवि लामिछानेले पार्टी गठनको पाँच महिनामा अभूतपूर्व सफलता निकालेका थिए। संसदीय निर्वाचनमा २० सिट जितेर रास्वपा निर्णायक शक्ति बनेको थियो।

परिवर्तनको नारा बोकेर संसद्‌मा पुगेको रास्वपा उही पुराना दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको शक्ति बाँडफाँटको साक्षी बस्यो। १० पुसमा संसद्को पहिलो शक्ति कांग्रेसले प्रधानमन्त्री नबनाएपछि तेस्रो शक्ति रहेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो शक्ति एमालेसँग मिलेर गठबन्धन बदले। उक्त सातदलीय गठबन्धनमा सहभागी बन्यो रास्वपा पनि।

११ पुसमा ७ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापति लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाए। मन्त्रिपरिषद् विस्तार हुँदा रास्वपाले ३ मन्त्री र १ राज्यमन्त्री पायो।

२६ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिएसँगै गठबन्धनमा खटपट सुरु भइसकेको थियो।  फागुन १२ मा प्रचण्डले पुन: पुरानो गठबन्धन तोडेर पुन: कांग्रेससितै जोडी बाँधे। तर त्यसअगावै रास्वपा सभापति पदमुक्त भइसकेका थिए। माघ १३ गते नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि रवि उपप्रधान र गृहमन्त्रीबाट पनि पदमुक्त भएका थिए। दुई दिनपछि पुन: नागरिकता लिएका उनी सरकारमा फर्किन चाहन्थे- एउटै अडान थियो गृह मन्त्रालय। तर प्रधानमन्त्री प्रचण्डले गृह नदिने अडान लिएपछि ४२ दिनमै रास्वपा सरकारबाट बाहिरियो, तर सरकारलाई दिएको समर्थन भने कायमै राख्यो।

उपनिर्वाचनको मिति घोषणा भयो। उपनिर्वाचनको तयारी भइरहँदा रास्वपाका समानुपाति सांसद ढाकाकुमार श्रेष्ठले साढे दुई करोड घूस मागेको अडिओ सार्वजनिक भयो।

उक्त प्रकरणले रास्वपालाई केही असर गर्छ कि भन्ने अनुमान थियो, तर भर्खरै सम्पन्न उपनिर्वाचनमा रास्वपा झन् प्रभावशाली बनेको छ।गुमेको चितवन २ मात्रै नभई  उनको नेतृत्वको रास्वापाका उम्मेदवार डा. स्वर्णिम वाग्ले तनहुँ २ मा फराकिलो मतान्तरसहित विजयी भए।उपनिर्वाचनको प्रारम्भिक मतगणनादेखि नै अग्रता जमाएका रास्वपा उम्मेदवार रविले दोस्रोपटक झन् शानदार मतसहित ऐतिहासिक जित निकाले।

चितवन २ मा मुख्य प्रतिस्पर्धी सत्तागठबन्धनका साझा उम्मेदवार र एमालेका उम्मेदवारले १२ हजार मत पनि ल्याउन नसक्दा रास्वपाका लामिछानेले ५४ हजार मत ल्याएर संसदमा आफ्नो सिट सुरक्षित गर्ने दोस्रो अवसर पाए। रवि संसद्‌मा पुनः स्थापित हुँदा चितवनकै मतदाताहरू भने रविको यो पटकको सफलता पनि जोगिएला कि नजोगिएला भन्ने चिन्तामा छन्।’जिताउन त जितायौँ तर‍ फेरि केही मुद्दा हालेर काम गर्न नदिने प्रपञ्च रच्ने हुन् कि!’ विजयोत्सवमा सहभागी मतदाताहरूले चिन्ता व्यक्त गरेको सुनिन्थ्यो। उपनिर्वाचनमा थप ५ हजार मतदातालाई आफ्नो पक्षमा पारेका रविको काँधमा अब रास्वपाको छवि जोगाउने जिम्मेवारी पनि छ।

सामाजिक सञ्जालमा मात्रै होइन ग्राउन्डमा पनि रास्वपा समर्थकको ठूलो संख्या देखिएको यस घडीमा रविलाई रास्वपा र रास्वपाको चुनाव चिह्न घण्टीलाई स्थापित गर्ने अवसर पनि हो यो। रास्वपाप्रतिको आम जनविश्वास जोगाइराख्ने चुनौती पनि उनमा छ।

गत मंसिर ४ गतेको निर्वाचनमा चितवन २ मा रवि ३५ हजार मतान्तरसहित विजयी भएका थिए। उनको त्यसबेला ४९ हजार ३०० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए।

सरकारमा सहभागी भएर रास्वपाका विभिन्न प्रकरण सार्वजनिक भएपछि भोट घट्ने आकलन धेरैको थियो। तर बैशाख १० मा सम्पन्न उपनिर्वाचनमा रविले मंसिर ४ मा ल्याएको भन्दा ४ हजार बढी अर्थात् ५४ हजार १७६ मत ल्याए। दोस्रोपटक संसद् प्रवेशको अवसर पाएका रविले आफ्नो जितलाई जनताको माया र आफूमा जनताले सम्भावनाको खोजी गरेको बताएका छन्।

यसअघि उनी आफ्नै कारणले नागरिकता र राहदानी मुद्दामा फसेका थिए। टेलिभिजन पत्रकारिताबाट राजनीतिमा होमिएका रविको पक्षमा जुन रुझान देखिएको छ त्यसलाई उनले कसरी व्यवस्थित भएर सम्हाल्छन् ? जितपछि अब रास्वपाको अर्को परीक्षा सुरु भएको छ।

रविले जुन व्यवस्थामा चुनाव जितेका छन् यसका सबै संयन्त्रहरूको बारेमा उनी जानकार पनि भइसकेका छन्। तर अहिलेसम्म उनले देश नबन्नुको मुख्य कारण नेता हुन् भन्ने जुन भाष्य बनाएका छन्, त्यसमा पुनर्विचार गर्ने स्थानमा उनी आफैँ पुगेका छन्।

प्रतिक्रिया
rabi lamichhane