बागमती : क्याबिनेट विस्तारमा कांग्रेसको ‘अडान’ले मुख्यमन्त्रीलाई सकस

बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले मन्त्रालय संख्यामा अडान नछाड्दा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल सकसमा परेका छन्। गत आइतबार केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका मुख्यमन्त्री जम्मकट्टेल कांग्रेसले अडान नछाड्दा सरकार विस्तार गर्न अड्कोमा फसेका हुन्।
बागमतीका ११ मध्ये ५ वटा मन्त्रालयको अझै टुंगो लाग्न सकेको छैन। गत आइतबारमात्रै जम्मकट्टेलले कांग्रेसबाट अर्थमन्त्रीमा बहादुर सिंह लामा र खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा तिर्थबहादुर लामालाई नियुक्त गरेका थिए। कांग्रेसले बागमतीमा ६ वटा मन्त्रालय दाबी गरेको छ। अर्थमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता लामा पनि आफूहरुको दाबी ६ वटा मन्त्रालयमा भएको भन्दै अडान नछाड्ने बताउँछन्।
‘प्रदेशसभामा हामी ठूलो दल हौं। संसदको संख्याको आधारमा पनि कांग्रेसले ६ वटा मन्त्रालयमा दाबी गर्नु सामान्य कुरा हो,’ लामाले नेपालखबरसँग भने, ‘हाम्रो अडान फिर्ता हुँदैन।’ केन्द्रको राजनीतिक सत्ता गठबन्धन अनुसार बागमतीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी गरी तीन दलको नेतृत्वको सरकार छ।
अघिल्लो गठबन्धनमा पनि राप्रपा, एमाले र माओवादी मिलेर सरकार बनाउँदा त्यति चुनौती खेप्न नपरेका मुख्यमन्त्रीलाई कांग्रेस नेतृत्वको गठबन्धनले भने सकसमा पारेको छ। सत्तामा गएदेखि नै मुख्यमन्त्री नपाएपछि ६ मन्त्रालय पाउनुपर्ने अडानमा कांग्रेस छ। यता, सत्तामा रहेको एकीकृत समाजवादीले पनि २ मन्त्रालयमा दाबी गरिरहेको छ।
कांग्रेसले दाबी गरेको ६ र एकीकृत समाजवादीलाई २ मन्त्रालय दिन मन्त्रालयको संख्या नै पुग्दैन। रिक्त मन्त्रालय भन्दा दावी गर्नेको संख्या बढेपछि मुख्यमन्त्री जम्मकट्टेललाई मन्त्रालय भागवन्डा मिलानमै चुनौती भएको हो।
त्यसोत, आइतबार ११ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा रहेको बताइएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्् कार्यालय स्रोतका अनुसार क्याबिनेटलाई पूर्णता दिनेबारेमा छलफल भइरहेको छ। यहीबारेको छलफलका लागि मुख्यमन्त्री ज्यु काठमाडौंमा हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘भागवन्डामा सहमती भए आइतबार बागमती सरकारले पूर्णता पाउँछ।’बागमतीमा हाल स्वास्थ्य मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम रोेजगार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र संस्कृती पर्यटन तथा सहकारी मन्त्रालय रिक्त छ।
जसमा कांग्रेस र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त हुनेछन्।