अर्थतन्त्र संकटमा छैन : गभर्नर अधिकारी

कोरोना संक्रमणको माहामारीपछि विश्वका प्राय मुलुकहरुले आर्थिक संकट सामना गरिरहेका छन् । उद्योग धन्दा र कलकारखाना बन्द भएपछि उत्पादनमा ह्रास छ र आर्थिक गतिविधि ठप्पप्राय छन् ।
यस्तो अवस्थाले नेपाल समेत प्रभावित छ । अहिले अर्थतन्त्र संकटमा रहेकाले खर्चमा मितव्ययीता अपनाउनुपर्ने अवस्था आएको भन्दै गर्दा के कर्मचारीलाई तलव खुवाउन समेत ऋण लिनुपर्ने अवस्था आएकै हो त ? आम चासो बढ्दो छ ।
अर्थतन्त्र संकटमा रहेको भाष्य यतिबेला स्थापित जस्तै बन्न पुगेको छ । अर्थतन्त्रको समस्या कहाँ हो र यसलाई उकास्ने विधि के हो भन्ने भन्दा पनि बहस र छलफल अन्यत्रै मोडिएका कारण पनि अर्थतन्त्र थप संकटमा पुग्न थालेको बताइन्छ ।
सरकारी निकायबीच नै अर्थतन्त्रबारे एकमते देखिन्न । अर्थमन्त्रालय र राष्ट्र बैंकले गर्ने दाबीहरु नै फरक किन देखिन्छन ? यी र यस्ता प्रश्नले आम मानिसलाई थप पिरोल्ने गरेको छ ।
अर्थमन्त्रालयका अनुसार अर्थतन्त्र संकटमा नरहेपनि आगामी वर्षमा खर्च कटौति गरिने तयारी छ । आगामि बजेटमा खर्च कटौतिको विषयलाई भने उच्च प्राथमिकतामा राख्ने विषय मन्त्रालयको रोजाईमा देखिन्छ ।
अनावश्यक खर्च कटौति संकटमा मात्रै नभई हरेक समयमा गर्नुपर्ने काम हो । तर, संकटलाई देखाएर किन यस्तो विषय सार्वजनिक गरिदैछ ? यसको जवाफ भने कसैले दिने गरेका छैनन् । मन्त्रालयका सचिव तोयम रायले आर्थिक संकटमा मुलुक फसेपनि कर्मचारीलाई तलव खुवाउनका लागि ऋण लिनुपर्ने अवस्था भने आएको छैन् ।
अर्थ सचिव रायले यस्तो दाबी गरेपनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भने अर्थतन्त्र संकटमा नरहेको दाबी गर्छन् ।
अधिकारी अर्थतन्त्र सुधारोन्मुख रहेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको दाबी गरेपनि अर्थतन्त्रमा आएको संकुचनलाई भने घुमाउरो शैलीमा सबै मिलेर यसको वचाउ गर्नुपर्ने उनको भनाई छ ।
आर्थिक वृद्धिदरमाथि आउन सक्ने संकुचनलाई केन्द्रमा राखेर सरकारले यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने बेला मुलुकको व्यापार घाटा समेत उल्लेख्य रहेको बताइन्छ ।
यस्तो अवस्थाले समग्र अर्थतन्त्रमा देखिएका चुनौतिहरुलाई थप बढाएको देखिन्छ । त्यसैले समस्या कहाँकहाँ छ र कसरी न्यूनिकरण गर्न सकिन्छ ? यसतर्फ ध्यान दिनु आवश्यक छ ।