भीमफेदीको लटरम्मेश्वर महादेव मन्दिर क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्दैछौं–अध्यक्ष लामा

हेटौंडा / मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर–८ लटरम्मेश्वर महादेव स्थान जिल्लाको नयाँ उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दैछ । मकवानपुरको बकैया गाउँपालिका–१२ तथा भीमफेदी गाउँपालिका– ८ को सिमानामा रहेको डब्लु डाँडाको थुम्कोमा रहेको छ लटरम्मेश्वर महादेव मन्दिर । आजभोलि दैनिक सयौं व्यक्तिहरु सुन्दर दृश्यावलोकन तथा महादेवको दर्शन गर्न जाने गरेका छन् ।
काठमाडौं उपत्यका तथा मकवानपुरको हेटौंडासहित वीरगञ्ज, बारा, रौतहटलगायतका क्षेत्रबाट सयौंको संख्याका आन्तरिक पर्यटक उक्त स्थल पुग्ने गरेका हुन् । लटरम्मेश्वर महादेव मन्दिर बकैयाको ठिंगन तथा भीमफेदीको इपाका वासिन्दाको लागि नयाँ तथा नौलो नाम हैन । तत्कालीन इपा र ठिंगन गाविसका स्थानीय वर्षमा एक पटक भए पनि मन्दिर पुग्दै आएका छन् । करिब २ घण्टा ४५ मिनेटको ठाडो उकालो पैदल यात्रापछि पुगिन्छ मन्दिर ।
काठमाडौं उपत्यका तथा हेटौंडाबाट ९कान्ति लोकपथ० हुँदै यात्रा गर्दा बीचमा अर्थात ४४ किलोमिटरमा बकैया १२ को ठिंगन भन्ने स्थान आइपुग्छ । ठिंगनको खोरभञ्याङबाट करिब ३ किलोमिटर उत्तरतर्फको कच्ची सडकको यात्रापछि रातोमाटेमा पुगिन्छ । पैदल यात्रा आरम्भ गर्ने यहींबाट करिब २ घण्टा ४५ मिनेट उकालो बाटो हिँडेपछि लटरम्मेश्वर महादेव मन्दिर पुगिन्छ ।
भिरालो तथा जोखिमपूर्ण यात्राबीच त्यहाँबाट देखिने बागमती नदीको दृश्य, लालीगुँरास फुल्ने डाँडा, मिनेटैपिच्छे परिवर्तन भैरहने मौसमले हिँडाइको थकानलाई समेत भुलाइदिन्छ ।
यहाँको प्रमुख विशेषता भनेकै चिसो मौसम अर्थात प्रत्येक मिनेटमा परिवर्तन हुने मौसमको अनुभूति हो । यहाँ एकैछिनमा बादलले ढाक्छ, भने अर्को क्षणम बादल खुलेर सफा आकाश देख्न सकिन्छ । पैदल यात्राको क्रममा बाटोमा झरेका वास्नादार फूलले आनन्दित र सुवासित बनाउँछ । डब्लु डाँडाको पहिलो थुम्कोबाट बीचको थुम्को अर्थात महादेशस्थल पुग्ने क्षण सबैभन्दा धेरै आकर्षक देखिन्छ । भाइरल भएको सिँढी रहेको उक्त स्थलको मौसम सबैभन्दा मनमोहक छ ।
एक दिनमै ‘एडभेन्चर ट्रेकिङ’को मज्जा लिनेहरुको लागि लटरम्मेश्वर देशकै महत्वपूर्ण स्थल हुनसक्छ । हिउँदको मौसममा हिउँसमेत पर्ने उक्त स्थल काठमाडौंबाट पनि नजिक छ । त्यसैले बागमती प्रदेशकै महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्न सक्छ । अझ लटरम्मेश्वर नजिकै रहेको रुद्रास्थली क्षेत्र तथा ललितपुरको कालेश्वर महादेव मन्दिरलाई जोडेर ‘ट्राभल सर्कल’ बनाउन सकिन्छ ।
भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले यो वर्षबाट लटरम्मेश्वरलाई प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन डीपीआर निर्माण गरेर काम सुरु गरिने बताउनुभयो । अहिले सम्म गाउँपालिका कार्यालयले दुइ करोड रुपैयाँ भन्दा धेरै रकम खर्च गरिएको समेत उहाँले बताउनुभयो । यहाँ खानेपानी, बिजुली पुर्याउने पहिलो प्राथमिकताका साथ काम गरिने बताउनुभयो ।