अध्यक्षकाे पहलमा बाल विवाह रोकेपछी पढाइलाई निरन्तरता
मकवानपुर / रञ्जन कालाखेती आफ्नो दैनिकीको शिलशिलामा घरमै थिए । कार्यालयको समय नभएकोले उनी आफ्नो घरायसी काममा व्यस्त थिए ।
बालबालिकाकाे क्षेत्रमा क्रियाशील राजेन्द्र मोक्तान, अस्मिता कार्की र रेजिना ढकाल उनैको घरमा आइपुगे । तीनै जना हतास र आत्तिएको जस्ता देखिन्थे । गाउँपालिकाका अध्यक्ष कालाखेतीले कारण सोधे, उनीहरुले एकै स्वरमा भने “बाल विवाह रोक्नु पर्यो दाई, हाम्रो बुताले भ्याएन ।“ २० वर्षमुनिको विवाहलाई नेपालको कानुनले पनि गैरकानूनी भनेको छ । यहाँ विवाह हुँदै थियो १६ वर्षिया बालिका र १८ वर्षिय बालकको ।
मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ९ कि बालिका र मकवानपुर जिल्लाकै राक्सिराङ गाउँपालिका सरिखेतका बालकबीच विवाह हुदै गरेको थाहा पाएपछी सिविन बाल हेल्प लाइन मकवानपुरका सामाजिक परिचालनक माेक्तान मनहरी गाउँपालिका बाल अधिकार समिति सदस्य कार्की र बाल क्लबकी ढकाल गाउँपालिका अध्यक्षलाई गुहार्न घरैमा पुगेका थिए ।
विवाहको कुरा टुङ्गीएको मात्रै भए पनि केही सहज हुने थियो । तर त्यहाँ झण्डै २ सय जना जन्ती विहेको भोज खाँदै थिए । मण्डपमा बालबालिकाको विवाहको कर्म हुँदै थियो । कक्षा ८ मा पढ्ने बालिका र कक्षा १२ मा पढेका बालकबीच आपसी प्रेम सम्बन्धपछि परिवारको स्वीकृतिमा विवाह हुँदै थियो । बालबालिकाको पक्षमा दुबैतर्फको परिवार राजी भएपछि विवाहको मिति तोकियो । सरिखेतदेखि जन्ती लिएर केटा पक्ष मनहरी ९ ज्यामिरे आइपुग्यो ।
विवाहको प्रक्रिया नै सुरु भएपछि घटना सिविनका सामाजिक परिचालनकले थाहा पाए । उनीहरुले विवाह मण्डपमै पुगेर एक्सन लिन अध्यक्षको सहायता मागेका थिए । अध्यक्ष कालाखेतीलाई सम्बन्धित वडाका अध्यक्ष राजकुमार श्रेष्ठले पनि साथ दिए ।
“विवाह भाँड्न आएको भनेर आफैंमाथि जाइलाग्न सक्ने अवस्था थियो, प्रहरी लिएर जाउँ कि भन्ने सोचे, तर पहिले आफैं गएर सम्झाउने हिम्मत बोकेर प्रहरी नलिकन गएँ” अध्यक्ष कालाखेतीले भने “आफ्नो गाउँ, आफ्ना मतदाता पक्कै मलाई टेर्नुहुनेछ भन्ने लागेर गए, केटा र केटी दुबैका परिवारले मानिदिनु पनि भयो ।”
कानुनी जानकारीको अभावमा हुदै गरेको बाल विवाह रोक्न सफल भएको कालाखेतीले बताए । “कानुन अनुसार बाल विवाह गरेमा अभिभावक र विवाह गर्ने गराउने सबैलाई कारवाही हुने जानकारी गराएपछि विवाह रोकिएको उनले बताए ।
हुँदै गरेको विवाह तत्काललाई रोकिएपछि अहिले बालिकाले आफ्नो अध्ययनलाई निरन्तरता दिएको कालाखेतीले बताए । विवाह राेकिएकाे घटना केही महिना अघिकाे हाे । बालबालिकाकाे संवेदनशि सवाल भएकाेले घटना हतारिएर बाहिर नदिएकाे तर अध्यक्ष कालाखेतीले अहिले पनि नियमित अनुगमन र चासाे राखिरहेकाे बताए ।
“एक दिन एक्सन लिएर भएन उहाँहरुकाे समस्या छ भने याे पनि बुझ्न पराे नि” उनले भने “अहिले पनि म बेला बेलामा बालिकाको घरमा पुग्छु, उनको पढाइबारे सोध्छु ।” छोरीको विवाह रोकेर पढाइमा फर्काउन सहयोग गरेकोमा अभिभावकहरु पनि खुसी रहेकाे उनले बताए ।
नेपालको कानूनले विवाह गर्दा केटा र केटी दुबैको उमेर २० वर्ष पुरा भएको हुनुपर्ने व्यवस्था गरेको छ । त्यसैले २० वर्षभन्दा कम उमेरमै विवाह गर्नु / गराउनु अपराध हो । बाल विवाह गर्ने गराउने र सहभागी हुने सबैलाई कानूनले कारबाहीको दायरामा ल्याएको छ । मुलुकी अपराध संहिता २०७४ दर्फा १७३ अनुसार विवाह गर्ने व्यक्तिको उमेर वर्ष २० नपुगी कसैले विवाह गर्न वा गराउन हुदैन । यसो गरेमा ३ वर्षकैद र ३० हजार रुपियाँसम्म जरिवाना हुनेछ । विवाह गर्न पुरा हुनु पर्ने उमेर पुरा नभएको व्यक्तिले दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन ।
मकवानपुरको मनहरी गाउँपालिका २०७६ पुस २८ गते बाल मैत्री स्थानीय शासन लागु भएको स्थानीय तहको रुपमा घोषणा भइसकेको छ । तर प्रयाप्त तयारी बिना नै बालमैत्री घोषणा गरिएको कारण अझै स्थानीयबासीहरुको यसबारे जानकारीको अभाव रहेको पाइएको छ । बालमैत्री स्थानीय शासनको दीगो कार्यान्वयको लागि आफूले गाउँपालिका स्तरबाट विभिन्न सचेतना कार्यक्रमहरु गरिरहेको र आगमी बर्ष पनि बालमैत्री स्थानीय शासनको दीगो कार्यान्वयको लागि बजेटको व्यवस्था गर्ने अध्यक्ष कालाखेतीले बताए ।
यहाँ बालश्रमलगायतका अन्य समस्या पनि रहेकोले स्थलगत अनुगमन तथा निरीक्षण गरेर कारवाहीको प्रक्रियामा ल्याउने गरेको उनले बताए । बालमैत्री घाेषणा भएपछी बाल विवाहकाे क्रम न्यूनिकरण भएकाे तर अझै चुनाैति धेरै रहेकाे सिविनकाे सहजकर्ता माेक्तानले बताए । केटा र केटीले भागेर विवाह गरेकाे र परम्परा अनुसार जन्ती फर्काउने क्रममा विवाह राेकिएकाे माेक्तानले बताए ।सहीखबरबाट ।