मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने दिन काठमाडौँबाट फर्केनन् कांग्रेसका सांसद

पालिका डायरी
८ चैत्र २०७९, १४:११
मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने दिन काठमाडौँबाट फर्केनन् कांग्रेसका सांसद

बागमती प्रदेशसभाको बैठक बस्ने दिन आज कांग्रेसका सांसदहरु यतिबेलासम्म पनि हेटौँडा आइपुगेका छैनन्।

दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची छ। तर सत्ता गठबन्धनमै रहेको कांग्रेसका प्रदेश सांसद भने अहिलेसम्म काठमाडौँमै छन्। कांग्रेस प्रदेश संसदीय दलको बैठक अहिले काठमाडौँमै बसिरहेको छ।

गठबन्धनमा रहेको कांग्रेसले पनि मुख्यमन्त्री पद दाबी गरिरहँदा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाउने सम्भावना कम भएको छ।

त्यसो त कांग्रेसमा पनि दुईधार हुँदा मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिएर निरन्तरता दिने कि मुख्यमन्त्रीको दाबी गर्ने भन्ने निर्णय गर्न नसकेको कांग्रेसनिकट स्रोतको भनाइ छ।

कांग्रेस बागमतीका सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादु बानियाँ मुख्यमन्त्री जम्मकट्टेललाई नै निरन्तरता दिनुपर्ने पक्षमा छन् भने कांग्रेस बागमती संसदीय दलका नेता बहादुरसिंह लामा भने ठूलो दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडानमा छन्।

यता कांग्रेसले मुख्यमन्त्रीलाई समर्थन गर्न दुईधार बनेपछि मुख्यमन्त्री जम्मकट्टेल नेतृत्वको सरकार धरापमा परेको छ। यद्यपि विश्वासको मत दिने कि कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्ने भन्ने निर्णय गर्न भर्खरै कांग्रेस संसदीय दलको बैठक सुरु भएको कांग्रेस बागमतीका सचेतक कुन्दनराज काफ्लेले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया