बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै, एमालेले सरकार छोड्दै

पालिका डायरी
८ चैत्र २०७९
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै, एमालेले सरकार छोड्दै

हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने हुनु भएको छ । तर, प्रदेश सरकारमा रहेको नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ । मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनु भन्दा अगाडी एमालेका चार जना मन्त्रीहरुले राजिनामा दिने तयारी गरिएको बुझिएको छ । तर, यो निर्णय एमालेको संसदीय दलको बैठकले मात्र निर्णय गर्ने बुझिएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम तय भएपनि केही ढिलो हुने बुझिएको छ ।

आजै बिश्वासको मत लिने र आजै नेपाली कांग्रेसबाट एक जना भनेपनि मन्त्रि नियुक्त गर्ने तयारी समेत भएको मुख्यमन्त्री जम्मकट्टेलले वताउनुभयो ।
मुख्यमन्त्रीलाई नेपाली कांग्रेस, एकिकृत समाजवादी, नेकपा माओबादी केन्द्र लगायतका दलहरुले बिश्वासको मत दिनेछन् । सरकारको विपक्षमा भने नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले मत दिने तयारी गरेका छन् ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दावि पनि गर्दै आएका थिए । तर, मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरेसंगै कांग्रेसले मुख्यमन्त्री पाउने संभावना कमजोर बनेको छ । बरु मन्त्री कसलाई पठाउने भन्ने छलफलमा कांग्रेस रहेको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँ र संसदीय दलका नेता लामा बिचमा मन्त्री कसलाई बनाउने भन्ने विवाद भएपछी संसदीय दलको बैठकनै काठमाण्डौंमा केन्द्रीय नेताहरुको उपस्थितमा राखेर मन्त्री पनि तय गर्न लागिएको बुझिएको छ ।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले ६५ दिनमै दोस्रो पटक संसदबाट विश्वासको मत लिन लाग्नु भएको हो । पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबिच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाउनु भएको थियो । उहाँलाई ६ दलका १०५ जना सांसदले विश्वासको मत दिएका थिए। गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन्।

११० जना सांसद रहेको प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्। मुख्यमन्त्री जम्कट्टेललाई सत्ता गठबन्धनका ३ वटा दलका ६७ सांसदको समर्थन प्राप्त हुने देखिन्छ। कांग्रेसका ३७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन पाउने देखिन्छ । राप्रपाका १३, नेमकिपाका ३ र एमालेका २७ जना सांसद मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा रहने देखिन्छ।

प्रतिक्रिया
sapath2-1536×565