मकवानपुरमा सडकै नबनाई पुललाई बजेट, ६ वर्षसम्म पिल्लर पनि उठेन
हेटौंडा / मकवानपुर र काभ्रे जोड्ने पक्की पुल विगत ६ वर्षदेखि अलपत्र छ । पुल समयमै निर्माण हुन नसक्नुमा तत्कालीन जिल्ला विकास समिति मकवानपुरले सडक नै नभएको स्थानमा बजेट हाल्नु प्रमुख कारण हो । जिल्ला विकास समितिहरूबाट बजेट विनियोजन कसरी हुने गरेका थिए भन्ने तथ्यबारे थोरैलाई मात्र थाहा नहोला ।
जिविसबाट राजनीतिक नेताहरूको प्रभाव र दबाबबाट सडक नै नभएको ठाउँमा पुल निर्माणका लागि बजेट पर्नु असम्भवजस्तै छ । अतिआवश्यक विकास योजनामा समेत बजेट नपर्ने अवस्थामा सडक नै नभएको ठाउँमा पुल बनाउने बजेट कसरी गयो रु यो प्रश्न भने ६ वर्षअगाडि बजेट पठाउने भूमिका खेल्ने राजनीतिक नेतृत्व र जिविसका कर्मचारीले मात्र दिन सक्लान् । तर, तत्कालीन जिविसको निर्णयले यतिबेला मकवानपुर र काभ्रेका जनताले मात्र दुःख पाएनन्, पुलको ठेक्का पार्ने निर्माण व्यवसायीसमेत तनावमा छन् ।
काभ्रेपलाञ्चोक र मकवानपुरलाई सडक सञ्जालबाट जोड्न आर्थिक वर्ष २०७३–७४ मा तत्कालीन जिल्ला विकास समितिको कार्यालय मकवानपुरले बोलपत्र आह्वान गरेको थियो । दुई वर्षभित्र पुल निर्माण गर्न ११ करोड रुपैयाँमा महादेव–शिखर–तामाकोसी जेभीसँग ठेक्का सम्झौता भएको थियो । तर, पुलको बजेट सडक नै नभएको स्थानमा परेको निर्माण व्यवसायी खड्ग गोपाली बताउँछन् । पुल बनाउन गाउँ छिरेको निर्माण कम्पनीले २ वर्षसम्म सडक ट्रयाक खोलेर बस्नुपरेपछि ६ वर्षसम्म पुल अलपत्र बनेको हो ।
यतिसम्म कि ६ वर्षसम्म पुलका सबै पिल्लरसमेत उठ्न सकेका छैनन् । मकवानपुर र काभ्रेपलाञ्चोकको सिमाना सिक्रेदोभानस्थित बागमती नदीमा पुल निर्माण गर्नुपर्ने थियो । तत्कालीन जिल्ला विकास समिति मकवानपुरले ठेक्का लगाएको पुल देशमा राज्य पुनर्संरचनापश्चात् संघीयता आएसँगै ५ वर्ष कटिसक्दा पनि पुल निर्माण हुन नसकेको हो । उक्त जिल्ला समितिको अधिकार तथा दायित्व राज्य पुनर्संरचनासँगै सरेर प्रदेश सरकारमा पुग्दा पनि पुल भने अझै जगमै सीमित छ । बागमती नदीमा पक्की पुल निर्माण नहुँदा काभ्रेपलाञ्चोकको खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले प्रदेश राजधानी हेटौँडा आउन र मकवानपुरबासी काभ्रे हुँदै अन्यन्त्र जिल्ला जान समस्या बेहोर्दै आएका छन् ।
पुल निर्माण हुने क्षेत्र मकवानपुर प्रदेशसभा १ को ‘क’०बाटै दुईपटकसम्म बागमती प्रदेशसभा सदस्यमा निर्वाचित सांसद प्रेमबहादुर पुलामीले अनेक कारणले पुल नबनेको बताए । उनले शिलापत्रसँग कारण भने खुलाउन चाहेनन् । ‘यो पुल नबन्नुमा अनेक कारण छन्, पछि छलफल गरौँला,’ कार्यक्रममा रहेका उनले व्यस्तताका कारण थप कुरा गर्न चाहेनन् । पुलामी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
यसैगरी, पुल निर्माण समयमै निर्माण हुन नसक्नुमा निर्माण कम्पनीका पनि आफ्नै कथाव्यथा छन् । पुल निर्माणको ठेक्का पाएको महादेव–शिखर–तामाकोसी जेभीका ठेकेदार खड्ग गोपालीले सरकारी निकायकै कारण पुल निर्माण समयै हुन नसकेको आरोप लगाए । घटनाक्रम बुझ्दा पुल निर्माण ढिलाइ हुनुमा गोपालीका पनि कमजोरी धेरै छन् । उनी मकवानपुरस्थित थाहा नगरपालिकाका निवर्तमान उपमेयर हुन् । कांग्रेस मकवानपुरका नेतासमेत रहेका गोपालीले २०७४ मा निर्वाचन जितेपछि आफूले पुलतर्फ धेरै ध्यान दिन नसकेको स्वीकारे ।
‘म चुनाव जितेर उपमेयर भएपछि छोराहरूलाई कामको जिम्मा लगाएँ । छोराहरूले के–के गरे । नत्र पुल नबन्नुमा मेरो मात्रै दोषचाहिँ छैन,’ उनले भने, ‘तत्कालीन जिविसले सडक नै नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाएका कारण पुल निर्माणको काममा ढिलाइ भएको हो ।’
पुलसम्म पुग्न साढे पाँच किलोमिटर सडक खन्ने काम गर्नुपरेकाले दुई वर्षको समय सडकको ट्रयाक खन्नमै सकिएको उनको दाबी छ । सडकको ट्रयाक निर्माण गर्दाको साढे २ करोड रुपैयाँ अझै भुक्तानी नभएको गोपालीको दाबी छ । ‘ट्रयाक खनेको साढे ५ किलोमिटर करिब २ करोड पाएनौँ । काम गर्दै गर्नु मिलाएर दिऊँलाचाहिँ भन्छन् । भौतिक मन्त्रालयमा निवेदन दिएका छौँ, काम गर्नुस्, पैसा आउँछ भन्छन्, यहाँ डिजेल किन्न पैसा छैन,’ गोपालीले भने ।
तत्कालीन समयमा सडक खनेको पैसा दिन्छौँ भनेर त्यतिबेला काभ्रेस्थित खानीखोला गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र स्थानीय दलहरूले हस्ताक्षर गरेको पत्र आफूसँग सुरक्षित रहेको उनको भनाइ छ । सडक निर्माण गर्दाको रकम दिने सहमतिमा तत्कालीन जिविसका इन्जिनियरको पनि हस्ताक्षर रहेको गोपालीले बताए ।
सडक निर्माणका क्रममा ठूलो चट्टा फोड्नु पर्ने कामले पुल निर्माण गर्न नसकिएको बताए । हाल पुलको दुई तिर फाउन्डेसन निर्माण भइसकेको छ । स्ल्याब गर्न भने बाँकी छ । पुलको ठेक्का लागेर काम सुरु हुने बेला संघीयता कारण जिल्ला विकास समिति खारेज भएपछि थप अन्योलता सिर्जना भएको थियो । जिविस खारेज भएपछि यसको दायित्व १० महिना पछि मात्रै पूर्वाधार विकास कार्यालय चितवनले लिएको गोपाली बताउँछन् । पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख वीरेन्द्रकुमार चौधरीले जिविसबाट दायित्व सरेर प्रदेशमा आएपछि काम भएको दाबी गर्छन् । उनले पुलको हालसम्म भौतिक प्रगति ४० मात्रै भएको बताए । आगामी असारसम्म स्ल्याब ढलान हुने उनको भनाइ छ ।
निर्माण व्यवसायी गोपालीले मकवानपुरतर्फको पिल्लरमा पाइलिङको काम ९खोलामुनि पिल्लरका लागि रड राख्ने० सकिएको बताए । नदीको बीच भागमा रहने पिल्लरको पाइलिङ गर्ने कामसमेत अघि बढेको उनको भनाइ छ । ११ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको पुल निर्माणका लागि दुईपटक म्याद थप भइसकेको छ । सम्झौता अवधिमा पुल निर्माण पूरा नभएपछि २०७७ फागुन १४ सम्मका लागि म्याद थप गरिएको थियो । त्यसपछि पनि म्याद थप हुँदै आएका छन् ।
पुल निर्माणपछि मंगलटार–चारकिल्ला–बनखु–भोर्लेनी सडकखण्ड, खोपासी–ताल्ढुङंगा, कान्ति लोकपथ हुँदै आउने चापगाउँ–गिम्दी–ताल्ढुंगा सडकखण्ड, सोही लोकपथबाट बेतिनी–भोर्लेनी सडकखण्डलगायतका सडक बागमती गाउँपालिकाको केन्द्र झुरझुरेस्थित धरान–चतरा मदन भण्डारी लोकमार्गमा जोडिनेछ । तर, पुल नबन्दा वर्षात्को समयमा दुई जिल्ला आवतजावत गर्न समस्या बन्दै आइरहेको छ ।
तत्कालीन जिल्ला विकास समितिले ठेक्का लगाएको मकवानपुरगढी गाउँपालिकाको सामरी खोलामा निर्माणाधीन पक्की पुल पनि अलपत्र छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ३ जोड्ने पुलको ठेक्का लिएको ६ वर्षमा पिल्लर मात्रै उठेका छन् । गत वर्ष निर्माण व्यवसायीले असारको बेला स्ल्याब ढलान गर्न खोज्दा खोलाले फाउन्डेशन बगाएको थियो । निर्माण व्यवसायीले बीमा दाबीका लागि असारमा आएर ढलान गर्न खोजेको आरोप लाग्ने गरेको छ । पुल नबन्दा हरेक वर्ष सामरी खोला वारपार भएर बस्तीमा बाढी छिर्ने डरले स्थानीय अझै त्रसित छन् ।
२०७३ साल पुस ११ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत जिल्ला विकास समिति मकवानपुरले नागर्जुन शंकरमाली जेभिलाई ५ करोड ३७ लाख ९२ हजार ३ सय ५ रुपैयाँमा २०७४ चैत ११ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको ठेक्का दिएको थियो । पुलको एकभागमा काठमाडौं जोड्ने बासुदेव मार्ग र अर्कोतर्फ गाउँपालिका केन्द्र जोड्ने सडक विगतमै निर्माण भएका थिए । ठेक्का पारेको नागार्जुन शंकरमाली जेभिले वैकल्पिक ठेकेदारलाई काम दिँदा पुल अलपत्र बनेको हो । शिलापत्रबाट ।