मकवानपुरको राक्सिराङमा ज्यान जोखिममा राखेर विद्यालय, आउन १ घण्टा, फर्किन २ घण्टा

पालिका डायरी
२१ फाल्गुन २०७९
मकवानपुरको राक्सिराङमा ज्यान जोखिममा राखेर विद्यालय, आउन १ घण्टा, फर्किन २ घण्टा

मकवानपुरको राक्सिराङ गाउँपालिका ४ भिमल्टारका समीर मोक्तान ७ वर्षका भए। बिहान उठेर एकैछिन खेलेपछि उनलाई विद्यालय जाने चटारो सुरु हुन्छ। अघिल्लो दिन झण्डै २ घण्टाभन्दा लामो समय नाक ठोक्कने उकालो चढेर घर पुगेको थकाइ हराउन भ्याउँदैन। बिहान पनि ढिलासम्म सुत्न भ्याउने त कुरै भएन। कम्तीमा बिहान ९ बजेभन्दा अघि नै घरबाट निस्किए घण्टी बज्दा नबज्दा विद्यालयको गेटभित्र पस्न सकिन्छ। एकैछिन ढिला भए कक्षा छुट्ने पीरले उनी सधैँ ९ नबज्दै घरबाट निस्कन्छन्।

दिनभरि पढ्यो। स्कुल छुटेपछि घर पुग्न उत्तिकै सास्ती। विद्यालयको प्राङ्गणबाटै देखिने उनको घर हेर्दा शिरको टोपी खस्ने अवस्था छ। अर्थात्, विद्यालय रहेकै डाँडाको चुचुरोमा छ– समीरको घर। अपराह्न ४ बजे विद्यालयमा छुट्टी भएर निस्किएपछि जंगलको बाटो हुँदै समीर साँझ ६ बजेतिर घर पुग्छन्। हिँडाइ र पढाइले तनमन नै थाकेका बेला बाटोमा थकाइ मार्न भ्याउँदैनन् उनी। उकालोमा बस्दै गए रात पर्दा पनि घर नपुग्ने डरले पाइला लम्काउनैपर्‍यो। ‘डर त लाग्दैन, हिँड्न गाह्रोचाहिँ हुन्छ’, उनले भने, ‘पानी परेका बेलामा बाटो चिप्लो भएर कति लडिन्छ!’

साथी ६ वर्षकी अनिषा!
समीरको घरभन्दा तल २० मिनेटजति लाग्ने ठाउँमा सोही विद्यालयमा पढ्ने कक्षा १ की अनिषा लो पनि छिन्। उनी ६ वर्षकी भइन्। समीरभन्दा १ वर्ष कान्छी अनिषा नै समीरको बाटो हिँड्ने साथी बनेकी छन्।

समीर र अनिषाको घर भएको ठाउँमा उनीहरूबाहेक अरू कसैको घर छैन। अलि तल अनिषाको घर छ भने अलि माथि समीरको घर। घरबाट विद्यालय पुग्ने बाटो हेर्दा लाग्छ– ठूला मान्छेलाई पनि ज्यान जोगाएर हिँड्न गाह्रो छ। यसरी ज्यान नै जोखिममा राखेर श्री भीमसेन प्राथमिक विद्यालयमा पढ्न आउने गरेका छन् उनीहरू।

साथी बिरामी भए एक्लै!
समीर र अनिषामध्ये जो बिरामी भए अथवा कुनै कारण विद्यालय आउन नसके एक्लै पर्छन्। घरसँगै नभएका कारण को जान्छ/जाँदैन भन्ने कुरा उनीहरूलाई थाहा हुँदैन। त्यसैले बाटोमा नभेटे एक्लै भए पनि विद्यालय आउने गरेको अनिषा बताउँछिन्। ‘दुईजना हुँदा चाहिँ डर लाग्दैन। एक्लै भ’को बेला अलिअलि डर लाग्छ। त्यही भएर एक्लै हुँदा म त कुद्दै आउने गर्छु। जाँदाचाहिँ गाह्रो हुन्छ, डर लागे नि कुद्न सक्दिनँ’, अनिषाले भनिन्।

समीर पनि एक्लै भए पनि स्कुल आउने गरेको बताउँछन्। उनले भने, ‘अस्ति नै म एक्लै पनि आउँथेँ। ऊ आउन थालेको त धेरै भ’को छैन।’त्यसो त अर्को वर्षबाट अनिषाका भाइ पनि स्कुल आउने भएकाले साथी थपिन्छ भनेर उनीहरू दंग छन्।

ल्याउन/लान भ्याउँदैनन् अभिभावक
सहर–बजारका अभिभावकजसरी यहाँका बासिन्दा आफ्ना बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन भ्याउँदैनन्। समीर र अनिषाजस्तै टाढाबाट पढ्न आउने बालबालिकाको संख्या उल्लेख्य छ। तर विकटका उनीहरूका आमाबुवालाई ज्याला मजदुरी गर्दैमा फुर्सद नहुने भएकाले बालबच्चा हेर्न भ्याउँदैनन्।

‘आमा घरमै छन्। तर पुर्‍याउन कहिले पनि आउँदैनन्। घरमा काम छ भन्छन्’, समीरले भने।

यता अनिषा पनि आमा गाई–बाख्रा हेर्ने काम गर्नपर्ने भएर कहिले पनि आफूलाई स्कुल पुर्‍याउन नआउने गरेको बताउँछिन्। उनले भनिन्, ‘सानो भाइ पनि हेर्नुपर्छ। गोठालो पनि जानपर्छ। त्यही भएर कहिल्यै पनि आउँदैनन्।’

विकटका विद्यार्थीलाई निकै कठिन छ : प्रधानाध्यापक
उक्त विद्यालयका प्रधानाध्यापक रामप्रसाद शाह समीर र अनिषालाई जस्तै प्रायः विद्यार्थीलाई आउजाउ गर्न समस्या रहेको बताउँछन्। पहाडको बीचमा रहेको विद्यालयमा पढ्न माथि चचुरोमा रहेका बालबालिका पनि आउनपर्ने र तल फेदीका बालबालिका पनि आउनपर्ने कारण कक्षामा पस्दा नै उनीहरू थकित हुने गरेको शाह बताउँछन्।

विद्यालय धेरै नभएकाा कारण यही विद्यालय आउनपर्ने बाध्यता छ। उनले भने, ‘अहिले त हिउँदको समय छ। बाटोघाटो पनि जेनतेन राम्रै छ। हिँड्न पनि त्यति कठिन त छैन। तर पनि यहाँ आउने भनेको ५ कक्षासम्मका विद्यार्थी हुन्। साना हुने भएकोले गाह्रो त भइहाल्छ। अब हावाहुरी र चट्याङको मौसम सुरु हुँदै छ। चिन्ता लाग्छ।’

नियमति आउँदैनन् विद्यालय
भीमसेन प्राविमा बिहीबार कक्षा ४ मा एकजना विद्यार्थी पनि उपस्थित भएनन्। कक्षा ५ मा ७ जनामध्ये २ जना मात्रै आएका थिए भने ३ मा ३ जना, २ मा ६ जना र कक्षा १ र शिशु कक्षामा गरी १२ जना विद्यार्थी हाजिर भएका थिए। विद्यार्थीहरू नआउनाको कारण थियो– ‘शुभ गाशा’। ‘गाशा’ भनेको तामाङ जातिको परम्पराअनुसार छोराछोरी जन्मिसकेपछि दोहोर्‍याएर गरिने विवाह हो। गाउँमा बुधबार डिलबहादुर मोक्तान र अन्तरी ब्लोनको ‘गाशा’ थियो। गाशाको रमझममा भुलिँदा विद्यालय आउने विद्यार्थी कम भएको प्रधानाध्यापक शाहले बताए।

यसमा मात्रै होइन, उक्त क्षेत्रका अरू विद्यालयमा पनि यहाँका बालबालिका नियमित जाँदैनन्। टाढा भएकै कारण विद्यालय जान अल्छी गर्छन् भने घरमा काम भए अभिभावकले नै पठाउँदैनन्। अनि गाउँमा बिहे, गाशा, छेवरजस्ता कार्यक्रम भए भने त कक्षाकोठा खाली नै हुने अवस्था पनि छ।

प्रतिक्रिया