कोइला अभावले हेटौंडा सिमेन्ट उद्योग तीन हप्तादेखि बन्द

पूर्ण सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगकोे उत्पादन बन्द भएको छ ।
उद्योगमा कोइलाको अभाव हुँदा सिमेन्द उत्पादन पूर्ण रुपमा बन्द भएको हेटौंडा सिमेन्ट उद्योगका प्रवन्ध निर्देशक वसन्त कुमार पाण्डेले बताए ।
‘मेन्टिनेन्सका कामहरु पनि भइरहेको छ, कोइला अभावले पनि उत्पादन गर्न सकिरहेको छैन,’ पाण्डेले नेपालखबरसँग भने। उनका अनुसार लगभग तीन हप्तादेखि सिमेन्ट उत्पादन ठप्प भएको हो । उत्पादन बन्द भएपनि स्टक सिमेन्ट भने बजारमा पठाइरहेको उनको दाबी छ ।
कोइला ल्याउनको लागि टेन्डर आव्हान गरेको बताउँदै यो हप्ताभित्र सिमेन्ट उत्पादन सुरु हुने पाण्डेले बताए। उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेर पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला ल्याउने क्रममा रहेको जनाएको छ ।
उनका अनुसार उद्योगले गुणस्तरीय कोइला भारत, इन्डोनेसिया, भूटान र पाकिस्तानबाट आयात गरी ल्याउने गरेको छ। उद्योगबाट उत्पादित सिमेन्ट काठमाडा, हेटौंडा, लगायत देशभरका सहरहरुमा आपूर्ति भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ ।