बागमतीको कृषि मन्त्री पोखरेलले जारी गरे ४४ बुँदे प्रतिबद्धता
बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले ४४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री केशव पोखरेलले ४४ बुंदे प्रतिबद्ध पत्र सार्वजनिक गरेका हुन् ।
आफ्नो कार्यकालमा सम्पादन गर्न सकिने कामकारबाहीहरू, नीति तथा कानून तर्जुमा र कार्यान्वयन बारे जानकारी गराएका हुन् । यहि माघ ११ गते कृषि मन्त्रीमा नियुक्त भएका पोखरेलले आफ्नो लक्षित कार्यक्रम बारे प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले अनुसन्धान र प्रविधि प्रसार, उत्पादन उत्पादकत्व वृद्धि र बजारीकरण, भूमि व्यवस्थापन, क्षमता अभिवृद्धि, समन्वय र सहकार्य,सुशासन प्रवर्द्धन, अनुगमन र मुल्यांकन बारे योजना सार्वजनिक गरेका हुन् ।
बागमती प्रदेश भित्रका कृषकहरुलाई सहज र सर्वसुलभ रसायनीक मल लगायत प्राङ्गारिक तथा जैविक मल उपलब्ध गराउन तत्काल कार्ययोजना तयार पार्ने, रसायनीक मलको कोटा बढाउन पहल गर्ने, मन्त्रालय र काठमाडौं विश्वविद्यालय बीच भएको समझदारी बमोजिम प्रदेशमा रसायनीक मल कारखाना स्थापना सम्बन्धी अध्ययन कार्य सम्पन्न गराई प्राप्त प्रतिवेदनको निष्कर्षलाई सम्भावनाको आधारमा कार्यान्वयन गर्दै लगिने उक्त प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । यस्तै प्रदेश पोल्ट्री विकास वोर्ड गठन गर्ने कार्यलाई चालू आर्थिक वर्ष भित्र नै कार्यान्वयनमा ल्याइ पोल्ट्री क्षेत्रमा देखिएको समस्यालाई सम्वोधन गरिने बताइएको छ ।
प्रदेशभित्र रहेका किसानहरुलाई व्यवसायिकताको आधारमा वर्गिकरण गरी किसान परिचय पत्र वितरण गर्ने व्यवस्था यथाशक्य छिटो मिलाइने उल्लेख छ । कृषि, पशुपन्छी र मत्स्य क्षेत्रमा विभिन्न रोगहरुको कारणवाट हुने क्षतिलाई न्यूनिकरण गर्न रोग नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजनाहरु कार्यान्वयन गरिन लगाएतका प्रतिबद्धताहरु पत्रमा उल्लेख गरिएको छ ।