बागमती प्रदेशका ७ अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

पालिका डायरी
२५ माघ २०७९, १६:३५

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेश भित्रका अस्पतालहरुलाई एम्बुलेन्स उपलब्ध गराएको छ।

बुधबार प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडामा स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रदेशका ७ मन्त्रालयलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

मन्त्रालयले भक्तपुरको भक्तपुर अस्, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, काठमाडौंको टोखा चण्डेश्वरी अस्पताल, दोलखाको पशुपति चौलागाईँ स्मृति अस्पताल, काभ्रेको मेथिनकोट अस्पताल, रामेछाप अस्पताल र चितवनको बकुलहर रत्ननगर अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स उपलब्ध गराएको हो।

एउटा एम्बुलेन्स खरिद गर्न ५२ लाख ९० हजार रुपैयाँ लागत लागेको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका प्रमुख अर्जुनप्रसाद सापकोटाले जानकारी दिए। सोझै खरिद गर्दा ७० लाख पर्ने एम्बुलेन्स टेण्डर आव्हान गरेर खरिद प्रक्रियामा गएको कारण कम रकममा उपलब्ध गर्न सकिएको उनले बताए।

गएको वर्ष मन्त्रालयले ५ वटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको थियो। एम्बुलेन्स हस्तान्तरण गर्दै प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले अत्यावश्यक एम्बुलेन्स हन्तारण गरिएको भन्दै त्यसलाई उचित प्रयोग गर्न समेत मातहतका सरोकारवाला निकायलाई अनुरोध गरे।

सिमान्तकृत, लोपोन्मुखलगायतका स्वास्थ्यको पहुँचमा नपुगेका नागरिकलाई स्वास्थ्य बीमा मार्फत सबैलाई स्वास्थ्यको पहुँचमा ल्याइने समेत मन्त्री श्रेष्ठले बताए।

प्रतिक्रिया