राक्सिराङको बाङदीराङमा खानेपानी तथा सरसफाई योजना स्थानीयलाई हस्तान्तरण

पालिका डायरी
२१ माघ २०७९

हेटौंडा / राक्सिराङ गाउँपालिका ५ स्थित बाङदीराङमा खानेपानी तथा सरसफाई योजना स्थानीयलाई हस्तान्तरण गरिएको छ ।
रिकभर परियोजनाले सीआरएस नेपालको मुख्य आर्थिक सहयोगमा लुमन्ती र सप्रोस नेपालको सहकार्यमा सम्पन्न भएको ३० वटा खानेपानी धारा शुक्रबार स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । प्रमुखअतिथि घलानले धाराको उद्घाटन गर्दै उक्त योजना स्थानीय बाङदीराङ खानेपानी तथा सरसफाई योजना समितिलाई हस्तान्तरण गर्नुभएको छ ।

खानेपानी योजना अन्तर्गत बाङदिराङका २८ घरधुरीमा खानेपानीको धारा जडान भएको छ । सबै घरधुरीमा धारा पुर्‍याउने लक्ष्यका साथ खानेपानी योजना सञ्चालन गरिएको रिकभर परियोजनाले जनाएको छ ।

खानेपानी, सिचाई, कृषि, आवासको क्षेत्रमा कार्यक्षेत्र बनाउदै आएका सीआरएस नेपाल, लुमन्ती, सप्रोस नेपालको गाउँ बस्तिमा जागरण शिक्षासंगै व्यावसायिक रोजगारी मुलक बनाउन सफल रहेको प्रमुख घलानले बताउनुभयो ।
त्यस्तै घलानले खानेपानीको समस्या तत्कालको लागि समाधान भएपनि दिर्घकालिन हुने गरि क्षेत्रअधिकार बढाउन समेत आग्रह गर्नुभयो ।

संस्थाको कुल बजेट १२ लाख ७० हजार ५ सय ६५ र श्रमदान ४ लाख ९० हजार ७ सय २५ रुपैयाँ गरी १७ लाख ६१ हजार २ सय ९० रुपैयाँ लागतमा खानेपानी योजना सम्पन्न भएको बताईएको छ ।

‘पहिले खानेपानीको लागि धाउनु पर्ने हुन्थ्यो, महिला दिदीबहिनीको दैनिकी पानी ओसार्नु मै बित्थ्यो । सीआरएस नेपाल, लुमन्ती र सप्रोस नेपालको सहयोग पछि घरघरमै पानी आएको छ । हाल ३१ घरमा ३० वटा धारा संचालनमा आइसकेको छ । धाराबाट खेर गएको पानीबाट तरकारी बाली लगाएका छौ ।’ समितिको कोषाध्यक्ष रुक्मिणी बर्तौलाले भन्नुभयो ।

त्यस्तै रिकभर परियोजना मार्फत निर्माण भएको घरको अनुगमन गरिएको छ । जसमा जिल्ला समन्वय समिति, भुकम्प पुनर्निर्माण प्राधिकरण मकवानपुर, राक्सिराङ गाउँपालिका तथा वडा लगायतको टिमले अनुगमन गरिएको छ ।

कार्यक्रम जिल्ला समन्वय समितिको उपप्रमुख सानुकाजी लुईटेल, राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, डिएलपीयु प्रमुख रबिन पाठक, सीआरएस नेपालकी संजिता श्रेष्ठ, सप्रोस नेपालको कार्यक्रम संयोजक भानु लिम्बु, महेश्वर ढकाल लगायतको आतिथ्यता तथा समितिको अध्यक्ष हर्कबहादुर मोक्तानको सभाध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया
received_684357040055317