चित्लाङमा १४ कोठे स्वास्थ्य चौकी भवनको शिलान्यास

पालिका डायरी
२१ माघ २०७९

राज कुमार के.सी.

थाहानगर / थाहा नगरपालिका र च्वाईस नेपालको संयुक्त लगानीमा थाहा नगरको चित्लाङमा १४ कोठे स्वास्थ्यचौकी भवनको शिलान्यास गरिएको छ ।

थाहा नगरप्रमुख बिष्णु बहादुर बिष्ट, उपप्रमुख भरत गोपाली र च्वाईस नेपालका कार्यकारी निर्देशक प्रतिक शर्माले संयुक्तरूपमा स्वास्थ्यचौकी भवनको शिलान्यास गर्नुभएको हो ।

शुक्रबार एक कार्यक्रमबिच थाहा नगरको वडा नम्बर ९ चित्लाङमा स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै नगरप्रमुख बिष्टले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचको लागि नगरपालिका प्रतिबद्ध भएको बताउनुभयो ।

नगर प्रमुख बिष्टले स्वास्थ्य चौकी भवन निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने बताउनुभयो ।

उहाँले थाहा नगरको स्वास्थ्य क्षेत्रको बिकासमा च्वाईस नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

चित्लाङमा स्वास्थ्यचौकी निर्माण र बिकासको लागि ३ बर्षे योजना रहेको च्वाईस नेपालका कार्यकारी निर्देशक प्रतिक शर्माले बताउनुभयो ।

शर्माका अनुसार पहिलो बर्षमा भवन निर्माण गरिनेछ । दोश्रो बर्ष स्वास्थ्य संस्थालाई आधुनिक उपकरण सहित प्रबिधिमैत्री बनाइनेछ र तेस्रो बर्ष कर्मचारी र स्वास्थ्यकर्मीहरुको क्षमता बिकास गरि दक्ष बनाउन बिभिन्न तालिम कार्यक्रम संचालन गरिनेछ ।

कूल २ करोड ९ हजार ४७० रुपैयाँ लागतमा निर्माण हुने स्वास्थ्यचौकी भवनकोलागि च्वाइस नेपालको १ करोड ५० लाख लगानी रहने च्वाइस नेपालका प्रताप घिमिरेले बताउनुभयो । उहाँले निर्धारित समयमै निर्माणकार्य सम्पन्न गर्ने समेत बताउनुभयो ।

स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भए पश्चात् नियमित स्वास्थ्य सेवा प्रभावकारी हुने वडा अध्यक्ष राज कुमार बलामीले बताउनुभयो । उहाँले स्वास्थ्यचौकी निर्माणको लागि सहयोग गर्ने संस्था च्वाईस नेपाललाई धन्यवाद ज्ञापन गर्नुभयो ।

स्वास्थ्य चौकी निर्माण समितिका अध्यक्ष राजिव नापितको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा थाहा नगरपालिका उपप्रमुख भरत गोपाली, वडा नं. ९ का अध्यक्ष राजकुमार बलामी, स्वास्थ्यचौकी प्रमुख महेश्वर लामिछाने, राजनैतिक दलका प्रतिनिधिहरु र स्थानीयको उपस्थिति रहेको थियो।

प्रतिक्रिया