जितुको फिल्म हेरेपछि दीपक-दीपाले के भने ?

यही शुक्रवारबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’को मंगलवार राजधानीमा ग्राण्ड प्रिमियर गरिएको छ ।
बेलुका आयोजित प्रिमियरमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्तदेखि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासम्मले डा. भोला रिजालको निर्माणमा बनेको चलचित्र हेरे ।
जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्रलाई अधिकांशले राम्रो प्रतिक्रिया दिए । ‘छक्का पञ्जा’ टिमका कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरेसम्म विग मुभिज पुगेर चलचित्र हेरे । ‘छक्का पञ्जा’ टिमबाट बाहिरिएका जितुको ‘ह्यारी कि प्यारी’ हेरेपछि दीपक–दीपाले चलचित्र राम्रो लागेको प्रतिक्रिया दिए ।
दीपकराजले जितुले जे गरे पनि आफूलाई राम्रो लाग्ने बताए । ‘हाम्रो यति लामो सहयात्रा छ कि उहाँले जे गरेपनि राम्रो लाग्छ । चलचित्र राम्रो बनेको छ’ उनले भने । दीपाश्रीले राम्रो चलचित्र बनेको बताइन् । उनले जितुले चलचित्रमा आफूलाई प्रमाणित गरेको बताइन् ।
जितुको अभिनयको पहिल्यैदेखि फ्यान रहेको समेत बताउँदै चलचित्र हेरिरहँदा भावुक भएको समेत दीपाश्रीले बताएकी थिइन् । उनले प्रतिक्रिया दिँदा जितु भावुक बनेका थिए । केदारले चलचित्र राम्रो लागेको बताए । चलचित्रले बीचबीचमा भावुक समेत बनाएको उनले बताएका थिए ।
डा. भोला रिजालका छोरा डा. कपिलको निर्देशन रहेको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल लगायतको समेत अभिनय छ । डा. भोला रिजाल दुई दशकपछि यसै चलचित्रमार्फत निर्माताका रुपमा फर्किएका हुन् ।
एकसमय थुप्रै हिट चलचित्र दिएको बिआर प्रोडक्सनबाट अब निरन्तर चलचित्र निर्माण हुने डा. रिजालले बताए ।