मगर दिवसका अवसरमा पाल्पाका सबै पालिकामा बिदा

पालिका डायरी
१५ फाल्गुन २०७९, ११:०९
भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

मगर एकता दिवसका अवसरमा पाल्पा जिल्लाका १० वटै स्थानीय तहले सोमबार सार्वजनिक बिदा दिएका छन् । ४१ औं मगर दिवसको अवसरमा तानसेन र रामपुर नगरपालिकाले बिदा दिएका छन् ।

यसैगरी निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ, बगनासकाली, रैनादेवी छहरा, रम्भा, रिब्दीकोट, पूर्वखोला गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् । सार्वजनिक बिदाका दिन पालिकाभित्रका सार्वजनिक निकाय, संघसंस्था, शिक्षक संस्था बन्द रहने पालिकाले जनाएका छन् । दिवसको अवसरमा जिल्ला भरका पालिकाले पालिकास्तरीय भव्य कार्यक्रमको तयारी गरेका छन् ।

कतिपय स्थानीय तहले बजेट नै विनियोजन गरेर मगर एकता दिवस मनाउने गरेका छन् । ४१औं मगर एकता दिवसको अवसरमा माथागढी गाउँपालिका–३, सराईमा मगर एकता दिवस तथा सांस्कृतिक महोत्सवको तयारी छ ।

स्थानीय कला संस्कृतिको जर्गेना, मगरी खाना, मगरी भेषभूषा आदिको प्रदर्शन हुने नेपाल मगर संघ माथागढीले जनाएको छ । वडाध्यक्ष तेज घर्तीमगरले मगरी समुदायभित्र रहेका केही सांस्कृतिक विकृतिलाई हटाउँदै मौलिकताको जर्गेना र संस्कृतिक संरक्षण गर्न मेला गरिएको बताए । रामपुरमा पनि एकीकृत मगर उत्थान समाजले विविध सांस्कृतिक कार्यक्रम गर्ने जनाएको छ ।

मगर संस्कृतिमा आधारित कला, भाषा, भेषभूषाको संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यका दिवस मनाउने तयारी छ । मगर समुदायमा प्रचलित झ्याउरे, सालैजो, कृष्ण चरित्र ठूलो नाच, ठाडो भाका, यानीमाया लगायतका विभिन्न झाँकीको प्रस्तुति गर्ने कार्यक्रम छ । मगरी खानाका परिकार बिक्री तथा प्रर्दशनी गरिनेछ ।
प्रतिक्रिया