शिव शिखर सहकारीका सञ्चालक बेपत्ता, रकम फिर्ता लिन बचतकर्ताहरू धर्नामा

पालिका डायरी
१४ फाल्गुन २०७९, १५:१८
शिव शिखर सहकारीका सञ्चालक बेपत्ता, रकम फिर्ता लिन बचतकर्ताहरू धर्नामा

हेटौँडा / हेटौँडा उपमहानगरपालिका–४ मा रहेको शिव शिखर सहकारी संस्थाका सञ्चालकहरू बेपत्ता भएपछि बचतकर्ता चिन्तामा परेका छन्।

सहकारीले बचतकर्ताहरुको रमक फिर्ता नदिएपछि उनीहरु आक्रोशित भएका छन्। बुधबारदेखि बन्द भएको सहकारीको ताला आज आइतबार खुले पनि सहकारीका जिम्मेवार व्यक्तिहरु उपस्थित नभएको भन्दै बचतकर्ता तथा सेयर सदस्यहरु आक्रोशित भएका हुन्।

आफूले जम्मा गरेको रकम फिर्ता लिन पटक/पटक सहकारी धाउँदा पनि रकम फिर्ता नपाएका बचतकर्ताहरु प्रत्येक दिन सहकारी संस्थाको ढोका कुरेर बस्ने गरेका छन्।

‘आज ताला त खोलियो, तर के गर्नु एक दुई कर्मचारी मात्रै छन्। उनीहरु पनि तलब नपाएको भन्दै हामीलाई नै पीडा सुनाउँछन्। पैसा फिर्ता आउने तरखर देखिँदैन,’ हेटौडा ११ की सीता खत्रीले भनिन्।

हेटौंडा १८ हर्नामाडीका प्रकाश सापकोटा पनि डेढ लाख बचत रहेको यस सहकारीमा १ महिनादेखि धाउँदा पनि फिर्ता नदिएको गुनासो गर्छन्। ‘डेढ लाख जम्मा भएको छ, त्यसको ब्याज कति भयो थाहा छैन’ सापकोटाले भने, ‘दिन्छौं, अहिले चल्ति पैसा नभएर हो भनेर टार्ने गरेको थियो। अहिले खुले पनि पैसा फिर्ता दिने मान्छे छैन,’

उनीहरु मात्रै होइन शिव शिखर सहकारी संस्थाको हेटौंडा ब्रान्च बन्द हुँदा सयौं बचतकर्ताहरु आफ्नो बचत कसरी फिर्ता लिने भन्नेर चिन्तित छन्। एक जनाकै ५ देखि ५० लाखसम्म बचत रहेको पीडितहरु बताउँछन्। यता, सहकारीका कर्मचारीहरु भने सञ्चालक समितिले समन्वय नगरेका कारण कर्मचारीले समेत तलब नपाएको बताउँछन्।

सहकारीका एक कर्मचारीका अनुसार चल्ति खर्च नभएकोले फिर्ता दिन नसकिएको र सञ्चालक समितिलाई यसबारे जानकारी गराउँदा पनि व्यवास्ता गरेपछि कर्मचारीले नै ताला लगाएको उनीहरुको भनाइ छ।

हेटौंडामा पुस २०७७ मा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरको शाखा खोलिएको थियो। हेटौंडामा यो सहकारीको १६ औं शाखा हो।

प्रतिक्रिया