मकवानपुरको विकट राक्सिराङमा बिजुली उद्घाटनको १ हप्तामै काटियो लाइन

पालिका डायरी
११ फाल्गुन २०७९
मकवानपुरको विकट राक्सिराङमा बिजुली उद्घाटनको १ हप्तामै काटियो लाइन

हेटौंडा / राक्सिराङ गाउँपालिका वडा नम्बर ४ को घोर्कोटेमा फाल्गुन १ गते पहिलो पटक बिजुली बत्ती बल्यो। बिजुली बत्तीको उद्घाटनमा निवर्तमान प्रदेश सांसददेखि स्थानीय तहका जनप्रतिनिधिहरुको बाक्लो उपस्थिती रह्यो। प्राधिकरणको प्रतिनिधिहरुले नै मिटर राखेर बिजुली बत्तीको उद्घाटन भयो ।

टुकी बत्ती र दियालोको सहारामा जीवनयापन गर्दै आएका स्थानीयहरु झिलीमिली बत्ती बल्दा निकै उत्साहित भएका थिए। तर बिजुली बत्तीको उज्यालोको अनुभव स्थानीयहरुले १ हप्ता पनि लिन पाएनन्। प्राधिकरणले नै अनेक बहाना गर्दै लाईन पठाउने फ्यूज नै झारिदिएपछि गाउँ पहिलेको जस्तै अन्धकारमा डुबेको स्थानीय ललन शाहले बताए।

१५० घरधुरी रहेको घोर्कोटे बस्तिमा बिजुली पुगे सङ्गै गाउँनै झिलिमिली भएको थियो। ३ फेज १०० के भि को ट्रान्सर्फमर जडान भएको थियो । तर सबै प्रक्रिया पूरा भएर बिजुली बलिसकेको ठाउँमा अनेक कारण देखाउँदै लाईन काटिदिएपछि फेरी टुकीकै सहारा लिनुपरेको भन्दै स्थानीय चिन्तित भएका छन्।

यता, गाउँपालिका अध्यक्ष राजकुमार मल्ल भने बिजुली लाइनमा त्रुटि रहेको भन्नेमा सत्यता नभएको हुनसक्ने बताउँछन् । बिजुलीको सबै प्रोटोकल पूरा गरेर उद्घाटन भएको बताउँदै अध्यक्ष मल्लले यसबारे आफूले थप बुझेर जानकारी लिने प्रक्रियामा रहेको बताए।

त्यसोत, मनहरी फ्यूज शाखाका इन्चार्ज हरिप्रसाद रुपाखेती प्राविधिक कारणले लाईनमा डिस्ट्रब आइरहेको कारण बन्द गरिएको बताउँछन्। ‘ठेकेदारले काम पूरा गरेको थियो। उद्घाटन भएर १ हप्ता भन्दा धेरै समय बत्ती बलेको हो। तार नजिक परेको कारण लाईनमा समस्या आएर बन्द गरिएको हो,’ शाखाका इन्चार्ज रुपाखेतीले भने। अबको केहीदिनमा मर्मत गरेर लाईन छोडिने उनले बताए।

 

प्रतिक्रिया