होटल संचालन गर्दै आएकी एकल महिलाको हत्या

पालिका डायरी
१५ माघ २०७९
होटल संचालन गर्दै आएकी एकल महिलाको हत्या

गुल्मीको मुसिकोट नगरपालिका ७ वामीनजिकै न्वारामा संचालित गंगा होटल संचालक मृत फेला परेकी छन् ।

बाग्लुङ बडिगाड गाउँपालिका २ स्थायी घर भई न्वारामा ३० वर्षदेखि होटल संचालक गर्दै आएकी ५८ वर्षीया गंगादेवी शेरचन मृत फेला परेकी हुन् ।

अविवाहित शेरचनले एक्लै खाजानास्तासहितको होटल संचालन गर्दै आएको मुसिकोट नगरपालिका– ७ का वडाध्यक्ष हरिहर सापकोटाले जानकारी दिए । उनका अनुसार शेरचन आफ्नै घरभित्र हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

होटलको मुल गेट बन्द थियो । सहायक ढोका खोलेर हत्या भएको हुन सक्ने स्थानीयको भनाइ छ । आइतबार बिहान अबेरसम्म पनि होटेलको ढोका नखुलेपछि स्थानीयवासीले वामी प्रहरीचौकीमा खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी उपरिक्षक अर्जुन रानाभाटा र प्रहरी नायव उपरिक्षक माधवराज खरेलको टोलीले घटनास्थलको अवलेकन गरेको छ ।

भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएर घटनास्थलको अनुसन्धान र मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक अर्जुन रानाभाटाले बताए ।

हात खुट्टा बाँधिएको र शब घोप्टो अवस्थामा भएकाले हत्याको आशंकामा कुकुर झिकाइएको रानाभाटले जानकारी दिए । ‘कुकुर र प्रहरी दुवैको कामअगाडि बढाएका छौँ । शवको प्रकृति हेर्दा हत्या भएको देखिन्छ,’ उनले भने ।

प्रतिक्रिया