लायन्सको आयोजनामा तीन दिवसीय आँखा परीक्षण शिविर हुने

पालिका डायरी
१५ माघ २०७९
लायन्सको आयोजनामा तीन दिवसीय आँखा परीक्षण शिविर हुने

हेटौंडा  /  लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एसको आयोजनामा तीन दिवसीय आँखा शिविर सञ्चालन हुने भएको छ ।

बारा, पर्सा, सर्लाही र मकवानपुर जिल्लाको आठ स्थानमा आँखा परीक्षण शिविर सञ्चालन हुने भएको हो । माघ १६ गते बाराको महेश्वपुर, सर्लाहीको हरिवन, माघ १७ गते मकवानपुरको फापरबारी, बाराको भोदाह र इनवसीरा तथा माघ १८ गते मकवानपुरको राक्सिराङ र बसामाडी गुम्बा तथा पर्साको बदन नगर वीरगञ्जमा शिविर हुने भएको हो ।

आयोजकले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै शिविरमा करिब ११ लाख रुपैयाँ खर्च हुने जनाएको छ । शिविरबाट करिब १८ सय ५० जना लाभान्वित हुने अनुमान गरिएको छ । शिविरमा करिब ४ सय ३० जना मोतियाविन्दुको विरामी भेटिने र उनीहरुको निःशुल्क आँखा शल्यक्रिया गर्ने गरी तयारी गरिएको लायन्सको एरिया चिफ विकेशलाल श्रेष्ठले जानकारी दिए । शिविरको सहयोगीको रुपमा तेज खोली एण्ड रुइत फाउण्डेशन र हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको छ ।

‘आँखाका धेरै विरामी भएको क्षेत्रहरुमा हामीले शिविर गर्न लागेका हौं । लायन्सले वर्षेनी स्वास्थ्य, शिक्षा तथा खेलकुदलगायत क्षेत्रमा काम गरिरहेको तपाईंहरुलाई जानकारी नै छ ।’, श्रेष्ठले पत्रकार सम्मेलनमा भने ।

प्रतिक्रिया