कन्सर्टका घाइतेलाई भेट्न अस्पताल जाँदै प्रमोद खरेल, भन्छन्- नमज्जा लागिरहेको छ

पालिका डायरी
१५ माघ २०७९
कन्सर्टका घाइतेलाई भेट्न अस्पताल जाँदै प्रमोद खरेल, भन्छन्- नमज्जा लागिरहेको छ

गायक प्रमोद खरेलको कन्सर्टमा अनियन्त्रित भीडमा च्यापिएर घाइते हुनेको संख्या ३० पुगेको छ । प्रहरीले सार्वजनिक गरेको नामावलीअनुसार घाइते हुनेमा धनकुटाका स्थानीय छन् । यीमध्ये १६ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र २ जनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । अन्य १२ जना भने धनकुटा अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

गायक खरेलले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उपचाररत् घाइतेलाई भेट्न उनी सोमबार बिहान अस्पताल जाने भएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै गायक खरेलले भने, ‘मलाई हेर्न भनेर माया गरेर आउनुहुने श्रोता–दर्शकलाई त्यस्तो परेर कार्यक्रम स्थगित हुँदाखेरि कलाकारलाई भावनात्मक रुपमा नमज्जा र दुःखद लाग्छ । प्राविधिक कुरा भोलि छानबिन होला तर फ्यानको नाताले मेरो कार्यक्रम हेर्न आउँदा भएको घटना हुँदा अत्यन्तै दुःखी छु ।’

अस्पताल पुगेर फ्यान र शुभचिन्तकलाई स्वास्थ्यलाभको कामना गर्ने प्रमोदले बताए ।

प्रतिक्रिया