बागमती प्रदेश सरकारका प्रवक्ता भन्छन्– १० गतेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ

पालिका डायरी
९ माघ २०७९, १२:१३
बागमती प्रदेश सरकारका प्रवक्ता भन्छन्– १० गतेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार यहि माघ १० गते पछि मात्रै हुने भएको छ। मन्त्रिपरिषद् विस्तारका लागि केन्द्रको निर्णय कुर्नुपर्ने हुँदा १० गतेपछि मात्रै प्रक्रिया अघि बढाइने प्रदेशका अर्थमन्त्री एवंम् सरकारका प्रवक्ता जगन्नाथ थपलियाले बताए।

थपलियाले नेपालखबरसँगको कुराकानीमा १० देखि १५ गतेको बीचमा प्रदेश सरकारले पूर्णता पाउने बताए। जसका लागि मुख्यमन्त्री शालिकराम जम्मकट्टेल लगायत सरकारमा जान चाहाने सांसदहरु केन्द्रीय छलफलका लागि काठमाडौंमा रहेको बताइएको छ।

‘हामी अहिले छलफलको क्रममा छौं। कसलाई कुन मन्त्रालय भन्दा पनि कुन मन्त्रालय घटाएर कतिमा समायोजन गर्ने भन्ने निक्र्यौल गर्न बाँकी छ। मन्त्रालयको औचित्यको प्रतिवेदनहरु पनि हेर्दै छौं। १० गते यता सरकारले पूर्णता पाउने सम्भावना छैन। त्यसपछि छिट्टै मन्त्रीपरिषद् विस्तार गर्ने तयारीको गृहकार्यमा लागिपरेका छौं,’ थपलियाले नेपालखबर सँग भने।

बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल सहित ३ मन्त्रीले एकै मञ्चमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए। जसमध्ये थपलियाले अर्थ मन्त्रालयको जिम्मेवारी पाउँदा राप्रपाका उद्धव थापाले बिना विभागीय मन्त्री बनेका थिए।

त्यसोत, साविकको १४ मन्त्रालयलाई घटाएर ९ देखि ११ को हाराहारीमा मन्त्रालय समायोजन गर्ने तयारीमा रहेका मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिएका कांग्रेस बाहेक ५ राजनीतिक दललाई भागवन्डा मिलाउन चुनौती सिर्जना भएको छ।

११ मन्त्रालय हुँदाको अवस्थामा एमालेले सभामुख र मुख्यमन्त्री छाडेको भन्दै कम्तीमा ४ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ।

माओवादी पनि कम्तीमा ३ मन्त्रालय आफ्नो भागमा रहनुपर्ने अडानमा छ भने राप्रपाले ३, एकीकृत समाजवादीले २ तथा हाम्रो नेपाली पार्टीले १ मन्त्रालयमा दाबी गरेको छ।

यसो हुँदा १३ मन्त्रालय हुन आउँछ। तर बढीमा ११ मन्त्रालय मात्र हुने भएपछि दलहरूको दाबीलाई मिलाएर भागवन्डा मिलाउन सकसपूर्ण देखिएको छ।

नेपाल खबरबाट ।

प्रतिक्रिया