मकवानपुरगढीमा राती १० बजे वडा अध्यक्षकै ट्याक्टर समातिएपछि…

पालिका डायरी
७ माघ २०७९, १८:५८

हेटौंडा /  देशभर नदीजन्य पदार्थ उत्खनन् र ओसारपसारमा रोक लगाइएको बेला मकवानपुरगढीका एक वडा अध्यक्षकै ट्याक्टर रातको समयमा समातिएको छ ।

मकवानपुरगढीको ५ नम्बर वडाका वडा अध्यक्ष दिपेश दाहालको प्रदेश–२–०३–००१ त ४३ ७२ नम्बरको ट्याक्टर शुक्रबार राती करिब १० बजे ६ नम्बर वडास्थित डुम्रेकुनामा समातिएको हो । स्थानीय युवाहरुले नदीजन्य पदार्थ उत्खनन् र ओसारपसारमा रोक लगाइएको बेला रातको समयमा गिट्टी बोकिएको भन्दै ट्याक्टर नियन्त्रणमा लिएका हुन् ।

उक्त ट्याक्टरलाई शुक्रबार राती नै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ । मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतमले अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको फेला परेपछि ट्याक्टरलाई नियन्त्रणमा लिइएको जानकारी दिए । प्रहरी कार्यालयले आज र भोली सार्वजनिक बिदा परेकाले सोमबार मात्रै नियन्त्रणमा लिइएको ट्याक्टरलाई सम्बन्धित स्थानीय तहमा बुझाउने भएको छ । प्रहरीले ट्याक्टर चालकलाई हिरासत मुक्त गरिसकेको छ ।

वडा अध्यक्ष दाहालले भने ट्याक्टर आफ्नो नभएको बताए । उनले होमनाथ गौतमको नाममा ट्याक्टर रहेको बताउँदै आफ्नो दाई दिनेश दाहालले ट्याक्टर सञ्चालन गरिरहेको बताए । आफ्नो दाईले उक्त ट्याक्टर सञ्चालन गरिरहेको भन्दै वडाध्यक्ष दाहालले आफ्नो भने नभएको भनेर ‘दिउसै रात पार्न खोजेका’ छन् । ‘ट्याक्टर मेरो हैन । मेरो दाईले चलाउँदै आएको हो,’ उनले अखबारहबसँग कुरा गर्दै भने ।

वडाध्यक्ष दहालले ६ नम्बर वडाकै सरमपुर भन्ने स्थानमा लुमन्ती भन्ने संस्थाले एक वृद्धको घर बनाइरहेकोले सहयोगको लागि गिट्टी पठाइएको बताए । उनले आफ्नो घर बनाउँदा बाँकी रहेको क्रस गिट्टी पठाइएको दाबी गरे । घर बनाउन लागेको गिट्टी राती नै किन पठाएको भन्ने प्रश्नमा उनले दिउसो जान नभ्याएर राती गएको हुन सक्ने बताएका छन् । गलत तरिकाबाट गिट्टी नपठाइएको उनले दाबी गर्दै राति जाँडरक्सी खोनेहरुले गलत काम गरेको आरोप लगाए ।

यता गाउँपालिका कार्यालयले भने नदीजन्य पदार्थको कर हाल काटेको छैन् । गाउँपालिकाले आन्तरिक विकास निर्माणमा कर नलाग्ने बताए पनि वडा अध्यक्ष दाहालले उक्त ट्याक्टरमा गिट्टी कता पठाउँदै थिए भन्ने प्रमाणित भएको देखिँदैन् । यदी उनले गिट्टी बाहिर निकासी गर्न खोजेको हो भने कर छली गर्न खोजेको आशंका स्थानीयहरुले गरेका छन् ।

मकवानपुरगढीमा यसअघि पनि रातीराती नदीजन्य पदार्थ र माटो ओसारपसार गरिरहेको प्रमाणित भएको थियो । करिक महिना दिनअघि २ नम्बर वडास्थित शिखरकटेरीमा ट्याक्टरले माटो ओसारपसार गरिरहेको फेला परेको हो । गाउँपालिकाबाट अवैध रुपमा नदीजन्य पदार्थ र माटो बाहिर निकासी भइरहँदा पनि जनप्रतिनिधिहरु मौन बसेका छन् । स्थानीयले जनप्रतिनिधिहरुको संलग्नतामा गाउँपालिकाको राजश्व गुमिरहेको आरोप लगाएका छन् ।

अखबारहबबाट ।

 

प्रतिक्रिया