मकवानपुरमा ८ वर्षदेखि भूकम्पले भत्किएकै भवनमा पठनपाठन

पालिका डायरी
७ माघ २०७९
मकवानपुरमा ८ वर्षदेखि भूकम्पले भत्किएकै भवनमा पठनपाठन

हेटौंडा / २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनका कारण लाखौं नागरिकको उठिबास लाग्यो। विद्यालयदेखि मठमन्दिरसम्म हजारौं संरचना ध्वस्त भए। तर सरकारी तथा गैरसरकारी संस्थाहरूको सहयोगमा भत्किएका घर नयाँ बने। दरबारजस्तै विद्यालयका भवन बने। तर भूकम्प गएको झन्डै ८ वर्ष बित्न लाग्दा पनि मकवानपुरको एक विद्यालय भत्किएकै जीर्ण भवनमा सञ्चालन भइरहेको छ। बालबालिका र शिक्षकहरू त्यही जोखिमपूर्ण भवनभित्र बसेर पढ्न/पढाउन बाध्य छन्।

पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८ भवानीपुरमा रहेको श्री वनदेवी आधारभूत विद्यालय मदन भण्डारी राजमार्ग छेउमै छ। तर यहाँका विद्यार्थी दुर्गमको विद्यालयभन्दा निकै नाजुक अवस्थामा पढिरहेका छन्।  २०७२ सालको भूकम्पले विद्यालयको भवन भत्किएको थियो। ०७३ सालमा सोही भवनकै नजिक प्लान इन्टरनेसनल नेपालले चारकोठे भवन बनाइदियो।

तर कक्षा ८ सम्म पढाउन ८ कोठाको खाँचो भएपछि भत्किएका भवनको पुराना जस्ताले बारेर अरू ४ कोठा विद्यालयले नै बनायो। यसरी पठनपाठन सञ्चालन भइरहेको विद्यालयको अवस्था झण्डै ८ वर्ष बित्न लाग्दा पनि उस्तै छ।

जाडोमा चिसो हावा पसेर त गर्मीमा जस्ता तातिएर बस्न नसकिने अवस्था सिर्जना हुन्छ। तर त्यस्तै बिजोगमा विद्यार्थी र शिक्षक बस्न बाध्य भइरहेको शिक्षक पवन राईले बताए। ‘चैत–वैशाखमा हावाहुरी आउने, बर्खामा पानी पस्ने, जाडोमा चिसो हुन्छ’, उनले भने, ‘नयाँ भवन बनिरहेको त छ, तर रकमको अभावले पूरा हुन सकेको छैन।’

सोही विद्यालयका अर्का शिक्षक भवानी घिमिरेले विद्यालय भवनसँगै खानेपानीको पनि उत्तिकै समस्या रहेको बताइन्। ‘पानीको पनि समस्या छ। इनारको पानी तानेर शौचालयमा चलाइरहेका छौं। खानेपानीको पाइपमा पानी बिहान मात्रै आउँछ। स्कुल दिउँसो मात्रै खुल्छ’, उनले पीडा सुनाइन्, ‘यही भएका कक्षाकोठामा पनि ढोका भाँचिएका छन्। नयाँ भवन बनिसकेको छैन। तर त्यसमा पनि पढाउन परिरहेको छ।’

यता विद्यालयका प्रध्यानाध्यापक सन्तवीर पाख्रिन अबको केही समयमा बनाउन सकिए अर्को हिउँदमा राम्रो पक्की कक्षाकोठामा राखेर पढाउन पाइन्छ कि भन्ने आशामा छन्। २०३२ सालमा स्थापना भएको सो विद्यालयको भवन भने ०६१ सालमा निर्माण गरिएको थियो। त्यसअघि काँसले बारेर पढाउने गरिएको उनले सुनाए।

२०७२ सालको भूकम्पबाट बचेका भवन पनि २०७७ सालमा मदन भण्डारी राजमार्ग विस्तार गर्ने क्रममा भत्काइए। त्यसो त यसबापत विद्यालयले मुआब्जास्वरूप ३१ लाख रुपैयाँ पायो। यसमा बागमती गाउँपालिकाले छुट्याएको २४ लाख र प्रदेश सरकारका तर्फबाट प्राप्त १६ लाख थपेर नयाँ पक्की भवन बनाउन थालियो। आठ कोठाको दुईतले भवन ढलान भए पनि अहिलेसम्म झ्याल, ढोका, प्लास्टर, रंगरोगनलगायतका काम बाँकी छन्। जसले गर्दा शिक्षक तथा विद्यार्थीले सास्ती खेप्न परिरहेको हो।

गाउँपालिकाको कार्यालयबाट केही दूरीमा मात्रै रहेको उक्त विद्यालयको स्थितिबारे स्थानीय सरकार पनि उत्तिकै चिन्तित रहेको र छिट्टै सुविधा सम्पन्न भवन बनाउन यस वर्षको रकम छुट्याएको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान बताउँछन्।

विद्यालयको अवस्था निरीक्षण गरेर त्यसलाई पूर्णता दिन अपुग बजेट उपलब्ध गराउन लागिपरेको जानकारी दिँदै उनले भने, ‘लामो समयदेखि वनदेवी आधारभूत विद्यालयको अवस्था दयनीय छ। सडक विस्तारको असरले पनि अझै समस्याहरू खेप्नपर्‍यो। तर अबको केही समयभित्र सबै काम पूरा गर्नेगरी हामीले चासो दिएका छौं,’ अध्यक्ष घलानले भने, ‘अबको केही महिनाभित्र विद्यार्थीहरूले सहज वातावरणमा अध्ययन गर्न पाउने छन्।  नेपाल खवरबाट ।

प्रतिक्रिया
school