थाहाको फोटो चितवनको खैरहनीमा प्रदर्शनी गरिने

पालिका डायरी
३ माघ २०७९

थाहानगर / थाहा नगरको पर्यटन प्रबर्द्धनका लागि चितवनको खैरहनीमा थाहा नगर आसपासको फोटो प्रदर्शनी गरिने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश तथा खैरहनी उद्योग वाणिज्य संघको आयोजनामा चितवनको लदरी खोला किनारमा २०७९ माघ ४ देखि १५ सम्म चल्ने बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवमा थाहाको फोटो प्रदर्शनीका लागि राखिने भएको हो ।

थाहा नगरका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका थाहा नगरपालिका भित्रका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरू समेटिएका ६० वटा फोटो उक्त महोत्सवमा प्रदर्शनीका लागि राखिने छन् ।

आन्तरिक पर्यटकलाई आकर्षित गर्न तथा थाहाको समष्टिगत परिचय दिने उद्देश्यले यो महोत्सवमा फोटो प्रदर्शनी गर्न लागिएको थाहा नगरका मेयर बिष्णु बहादुर बिष्टले बताउनु भयो ।

यस अघि काठमाडौको बसन्तपुरमा ३ दिन थाहा नगरको फोटो प्रदर्शनी गरिएको थियो ।

थाहा नगरपालिकाको आयोजनामा तथा फरक सोचको समन्वयमा गत कार्तिक १९,२० र २१ गते गरिएको उक्त प्रदर्शनीमा करिब १३ हजारले अवलोकन गरेको र त्यस प्रदर्शनीले थुप्रै आन्तरिक पर्यटकलाई थाहा नगरसम्म आउने वातावरण बनाएकोले चितवनमा पनि फोटो प्रदर्शनी गर्न लागिएको पनि नगर प्रमुख विष्टले बताउनु भयो ।

यस पटकको प्रदर्शनीे थाहा नगरपालिकाको आयोजना तथा फरक सोचको समन्वय रहने छ भने कार्यक्रमको ब्यवस्थापन थाहा नगर उधोग बाणिज्य संघको गर्नेछ । १० दिनसम्म चल्ने महोत्सवमा करिब १५ हजारले अवलोकन गर्ने पुर्वानूमान रहेको कार्यक्रमका संयोजक तथा थाहा नगर उधोग बाणिज्य संघका अध्यक्ष कबिराज खत्रीले जानकारी दिनुभयो ।

फरक सोच अभियानले आफ्नो ब्यवस्थापनमा काठमाण्डौमा भएको फोटो प्रदर्शनीमा बिक्री भएको फोटोबाट प्राप्त भएको ८० हजार ६ सय  रुपैयाँ राजस्व सहित प्रदर्शनीका निम्ति तयार पारियका ६३ थान माउन्ट गरिएको ४० हजार ८२४ रुपैयाँ बराबरको फोटो समेत नगरलाई बुझाएको थियो ।

चितवनको खैरहनीमा हुने महोत्सवमा अहिले ६० ओटा फोटो प्रदर्शनीका लागि राखिने फरक सोचका संयोजक यादवजंग रायमाझीले बताउनु भयो ।

प्रतिक्रिया