शपथ ग्रहणपछि राप्रपाका मन्त्रीहरु पशुपति दर्शन गर्न गए

पालिका डायरी
३ माघ २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीनजना मन्त्री बनेका छन्।

राप्रपाबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी लिएका छन्।

नेपाल प्रहरीका पूर्व आईजीपीसमेत रहेका राप्रपा नेता ध्रुवबहादुर प्रधानले कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

उता राप्रपाका अर्का नेता विक्रम पाण्डेको भागमा सहरी विकासमन्त्रालय परेको छ।

यी तीनैजनाले राष्ट्रपतिको कार्यालयमा शपथ ग्रहण गरेका छन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अब उनीहरु त्यहाँबाट दर्शनका लागि भगवान पशुपतिनाथको मन्दिरतर्फ गएका छन्।

पशुपतिनाथ मन्दिरमा दर्शन गरेपछि मात्रै तीनैजनाले पदबहालीका लागि सिंहदरबार जाने कार्यक्रम रहेको श्रेष्ठले बताए।

राप्रपाले गणतन्त्र र धर्मनिरपेक्षताविरोधी अभियान चलाइरहेको छ। उसले राजसंस्था फिर्ता र हिन्दु राज्य पुन:स्थापना हुनुपर्ने मूलनारा नै बनाएको छ।

प्रतिक्रिया