बागमतीको उपसभामुखमा कसको पल्लाभारी ?

पालिका डायरी
२ माघ २०७९
बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती प्रदेशको उपसभामुख पदको लागि माघ २ गते दिउँसो ३ बजे निर्वाचन हुँदैछ। शुक्रबार निर्वाचन प्रणाली मार्फत नै सभामुख चयन गरेको बागमतीमा उपसभामुखको लागि २ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक भएको हो।

उपसभामुखको लागि तीन जनाको उम्मेदवारी शुक्रबार नै दर्ता भइसकेको छ। सत्ता गठबन्धनबाट एमालेकी अप्सरा चापागाईं, कांग्रेसकी सुना परियार र नेपाल मजदुर किसान पार्टीकी रिता काफ्लेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका हुन्।

सात दलीय गठबन्धनको सत्ता भागबण्डामा बाग्मती प्रदेशको सभामुख राप्रपाको भागमा र उपसभामुख एमालेको भागमा परेको थियो। जसअनुसार राप्रपाका भुवन पाठक सभामुखमा निर्वाचित भएर पदभार ग्रहण गरिसकेका छन्।

अब उपसभामुख पनि गठबन्धनकै भागमा पर्ने लगभग निश्चित जस्तै छ। तर लोकतान्त्रिक अभ्यासमा रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले उपसभामुखको पनि उम्मेदवार उठाएको छ भने नेपाली कांग्रेसले पनि लोकतान्त्रिक पार्टी भएको कारण निर्वाचनमा जान चाहेको भन्दै उम्मेदवार उठाएको छ।

तीन जनाको दाबी
११० सदस्यीय बागमती प्रदेश सभामा ७ राजनीतिक दलको नेतृत्व छ। ७ दलमध्ये गठबन्धनबाट एक जना उम्मेदवार बनाउँदा सभामुखमा जस्तै गरि उपसभामुखका लागि पनि तीनै जनाको दाबी छ।

५ दल अर्थात एमाले, माओवादी, राप्रपा सहित एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी पनि सरकारलाई समर्थन गर्दै गठबन्धनमा मिसिएको छ। कांग्रेस प्रमुख प्रतिपक्षमा छ भने नेमकिपा पनि प्रतिपक्षमा छ।

तर, प्रतिपक्षमा रहेका दुई दलले पनि आ–आफ्नो उम्मेदवार खडा गरेको छ। आफू जस्तो छ उस्तैमा बसेर पार्टीको मर्यादा अनुसार काम गर्ने बताउँदै आएको नेमकिपाले सभाको हरेक गतिविधिमा सहभागी हुन पाउने आफ्नो अधिकारलाई सुनिश्चित गरेको छ। सरकार पक्षलाई समर्थन गरेर नजाने बताउँदै नेपकिपा बागमती संसदीय दलका नेता सुरेन्द्रराज गोसाईँले आफ्नो अधिकारको प्रयोग गरेको बताए।

‘सभामुखमा हामीले जित्दैनौं थाहा थियो, तर पनि हामी किन संविधानले दिएको अधिकार प्रयोग नगर्ने भनेर निर्वाचनमा होमियौं। सोही अनुसार उपसभामुखको लागि पनि हामीले दाबी गर्दै उम्मेदवार उठाएका हौं,’ दलका नेता गोसाइँले भने। नेमकिपाको बागमती प्रदेश सभामा ३ सिट छ।

यता, प्रदेश सभाको ठुलो दल समेत रहेको नेपाली कांग्रेसको ३७ सिट छ। तर सरकारमा जान बहुमत नपुग्ने भएपछि अहिले कांग्रेस ठुलो दल भएपनि प्रमुख प्रतिपक्षको भूमिकामा रहेको छ।

कांग्रेस एक्लै रहेता पनि गठबन्धनको साथ खोज्दै सभामुखमा उम्मेदवारी दर्ता गराएको कांग्रेसले आफ्नो बाहेक अन्य दलको एक मत पनि पाउन सकेन। शुक्रबार भएको निर्वाचनमा ३६ मत ल्याएर दोस्रो भएका शिवराज अधिकारी दोस्रो भएपनि उपसभामुखका लागि पनि कांग्रेसले आफ्नो उम्मेदवार उठाएको छ।

कसको पल्लाभारी ?
बागमतीको उपसभामुखमा एमालेकी अप्सरा चापागाईंको सम्भावना बढी छ। कारण उनलाई प्रत्यक्ष ४ दलको समर्थन छ। एमाले, माओवादी, राप्रपा र हाम्रो नेपाली पार्टीले सभामुखलाई आएको मत नै आधार मान्ने हो भने उपसभामुख पनि एमालेले नै पाउनमा शंका छैन।

जसअनुसार ११० सांसदमध्ये चापागाईंलाई पनि ६२ मत मत आउने निश्चित छ।

यता, कांग्रेसको ३७ सांसद छन्। कांग्रेसबाट सभामुखको उम्मेदवार बनेका शिवराज अधिकारीले एक सांसद अनुपस्थित हुँदा ३६ मत पाएका थिए। यदी अन्य दलको समर्थन सभामुखलाई जस्तै गरि उपसभामुखलाई पनि नआए सुना परियारले जित्ने सम्भावना रहँदैन।

परियार निर्वाचित हुन ५६ सांसदको समर्थन आवश्यक हुन्छ। तर कांग्रेस मात्रैको समर्थनले परियार निर्वाचित हुने अवस्था छैन। त्यसोत सरकारको साथ खोजेर आफू पनि सहयोग गर्ने र आफ्नो पार्टीलई पनि सत्ता गठबन्धनले साथ दिनुपर्ने सर्त बोकेर सरकारमा मिसिन खोजेको कांग्रेसलाई गठबन्धनमा रहेका दलहरुले भने कांग्रेसको यो प्रस्तावलाई प्राथमिकतामा राखेको राखेन।

जसरी पनि बहुमत पुग्ने भएपछि बाँडफाँडको चक्करमा गठबन्धन लाग्न नचाहेको प्रष्ट छ।

त्यसो त ३ सिट मात्रै रहेको नेमकिमा प्रतिपक्षमा छ। जसका लागि ५६ सांसदको समर्थन पुर्याउनु मुस्किल मात्रै होइन, असम्भव पनि छ। संविधानको हक पालना गर्दै सहभागिता जनाएको बताउने नेमकिपा बाट उपसभामुख पाउनु कठिनको विषय हो।

सभामुखको निर्वाचनमा पनि ३ मत मात्रै प्राप्त गरेको नेमकिपाले उपसभामुख उठाउनु कुनै लज्जाको बिषय नभएर अधिकार प्राप्ती गरेको ठानेको बताउँदै आएको छ। हालसम्मको सत्ता समीकरणलाई मध्यनजर गर्ने हो भने पनि गठबन्धनका साझा उम्मेदवार चापागाईँ नै बागमती प्रदेश सभाको दोस्रो उपसभामुख बन्ने लगभग निश्चित छ।

यद्यपी चुनावी मैदानमा होमिएका तीन उम्मेदवार मध्ये कसको पल्लाभारी होला त्यो भने माघ २ गते हुने निर्वाचनको मतपरिणाम पछि मात्रै थाहा हुने छ।

नेपालखबर बाट साभार ।

प्रतिक्रिया
bagamati