इन्द्रसरोवर–२ मा न्यानो कपडा वितरण एवम् निःशुल्क स्वास्थ्य शिविर
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ कुलेखानीमा बुधबार न्यानो कपडा वितरण एवम् निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । इन्द्रसरोवर गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रमअनुसार न्यानो कपडा वितरण तथा स्वास्थ्य शिविर संचालन गरिएको हो ।
गाउँपालिकाले “सबैको ध्यान, ज्येष्ठ नागरिकको सम्मान” भन्ने नाराका साथ ६८ वर्ष माथिका ज्येष्ठ नागरिक र ६० वर्ष माथिका एकल महिला तथा “क” वर्गको रातो परिचय पत्र भएका अपांगता समूहलाई लक्षीत गरी न्यानो कपडा वितरण गरेको गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईँले जानकारी दिए ।
उनका अनुसार, आज भएको कार्यक्रममा १९२ जनालाई न्यानो कपडा वितरण गरिएको थियो भने १०६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । उनीहरुलाई डा. रामेश्वर कुमार साहले स्वास्थ्य परीक्षण गरेका थिए ।
इन्द्रसरोवर गाउँपालिका–४ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक चन्द्रकुमार बलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्की, २ नं. वडा अध्यक्ष सुमन श्रेष्ठ, योजना तथा प्रशासकीय अधिकृत दीपक चापागाई, वडा सदस्यहरू क्रमशः प्रताप सिं लामा, बुद्धिराम लामालगायतको सहभागिता रहेको थियो ।