नेपालगञ्जमा दादुरा महामारी, खोपसँगै ‘भिटामिन ए’ खुवाइँदै

पालिका डायरी
२२ पुष २०७९
नेपालगञ्जमा दादुरा महामारी, खोपसँगै ‘भिटामिन ए’ खुवाइँदै

दादुरा महामारी फैलिएको नेपालगञ्जमा दादुराको खोपसँगै ‘भिटामिन ए’ खुवाउन सुरु गरिएको छ।

स्वास्थ्य कार्यालय, बाँकेको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले दादुरा फैलिएको तीन वटा वडाबाट दादुरा खोप र भिटामिन ए खुवाउन सुरु गरेको हो।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार, नगरका ५, ७ र ८ नम्बर वडामा दादुराविरुद्धको खोप र भिटामिन ए खुवाउन सुरु गरिएको छ।

नेपालगञ्जको वडा नं. ५ बाट देखिएको दादुरा संक्रमणले महामारीको रुप लिएको छ। यही वडामा दुई वर्ष सात महिनाका एक बालकको मृत्यु भएको छ। नगरका अरु करिव एक दर्जन वडामा दादुरा संक्रमण देखा परेको छ।

जनस्वास्थ्य निरीक्षक बस्नेतले ६ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई दादुराविरुद्धको खोप र भिटामिन एक खुवाइएको बताए।

स्वास्थ्य कार्यालयले नेपालगञ्जमा हरेक महिनाको ६ देखि ११ गते दादुराको खोप लगाउने गर्दछ। अहिले दादुरा संक्रमण देखिएका वडाका बालबालिकाले खोप नलगाएको पाइएपछि अभियानको रुपमा खोप लगाउन शुरु गरिएको हो। नेपालगञ्जमा २९ जनाबढी दादुरा संक्रमित छन् ।

प्रतिक्रिया
dadura