पाचौं बागमती गोल्डकप प्रतियोगिता पुष २४ गतेबाट

पालिका डायरी
१६ पुष २०७९
पुष २४ गतेबाट पाचौं बागमती गोल्डकप प्रतियोगिता

हेटौंडा / मकवानपुरको बागमती गाउँपालिकामा पाचौ बागमती गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ । प्रतियोगिताको पाँचौ संस्करण पुष २४ गतेदेखि माघ ३ गतेसम्म जनता माविको खेल मैदान फापरवारीमा हुने भएको हो ।

बागमती गाउँपालिका खेलकुद विकास समितिले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरि प्रतियोगिताको जानकारी गराएको हो । प्रतियोगिता  संयोजक टीकलाल श्रेष्ठले बागमती गाउँपालिकाको मुख्य प्रायोजन तथा बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुने जानकारी दिए ।

‘फुटबल खेलको विकास, स्थानीय खेलाडीहरुको प्रोत्साहन र खेलाडीको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापनाप्रतियोगिताको मुख्य उद्देश्य हो’ श्रेष्ठले भने ।  खेलकुद स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ सुरु हुने प्रतियोगिताका बिजेताले नगद ८ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै द्वितीय हुनेले नगद ४ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले  नगद ५१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद १०/१० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र,
हरेक खेलको म्यान अफ द म्याच खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।

प्रतियोगिताको लागत करिव ७१ लाख हुने अनुमान आयोजकले गरेको छ । वागमती गाउँपालिकाबाट ३५ लाख प्राप्त हुने तथा अन्य खर्च प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोगको लागि अनुरोध भैरहेको बताइएको छ ।

प्रतियोगितामा एक विदेशी, ७ वटा ए डिभिजन क्लव र २ वटा मोफसलको क्लवको सहभागिता रहने छ । प्रतियोगितामा आयोजक बागमती क्लब सहित त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब,मछिन्द्र युवा क्लब,हिमालय शेर्पा युवा क्लब, चर्च ब्याइज युनाईटेड, मकवानपुर हेटौंडा ११,जाउलाखेल युथ क्लब र भुटनिज युथ स्पोर्ट्स क्लब अमेरिकनको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको २०७८ को चौथो संस्करण अफ्रिकन स्ट्स एशोसिएसन क्यामरुनलाई हराउँदै थ्रीस्टार क्लवले जितेको थियो । गत बिजेता टोली पाचौ सस्करणमा सहभागी नहुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने दर्शकको लागि टिकटको व्यवस्था गरिएको छ । वागमती गोल्डकपलाई सफल बनाउनका लागि विभिन्न समितिहरु निर्माण गरि प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया