क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन पेसी आज

पालिका डायरी
१४ पुष २०७९, १०:०५
file photo

बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आज (बिहीबार) परेको छ ।

पाटन उच्च अदालतमा हुने पेसीमा आजै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकिलहरुको भनाइ छ । गत साता नै पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए । उनका कानुन व्यवसायीले गत २९ मंसिरमा पुनरावेदन गरेका थिए ।

आफू निर्दोश भएको दाबी गर्दै आएका लामिछानेले भने बाहिरै बसेर पनि अनुसन्धानलाई सहयोग गर्ने जिकिर गरेका छन् । नाबालिग जबरजस्ती करणीको आरोपित लामिछानेलाई कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

सन्दीपका कानुन व्यवसायीले दिएको निवेदनमा किशोरीको उमेर १८ वर्षमाथि रहेको दाबी गरिएको छ । थुनछेकको बहसका क्रममा सन्दीपका वकिलहरूले नाबालिग भनिएकी किशोरीको उमेर १८ वर्ष ३ महिना भइसकेकाले अभियोग नै गलत भएको तर्क गरेका थिए। तर, अदालतले फैसला नहुन्जेल पुर्पक्षका लागि सन्दीपलाई कारागार पठाएका थियो ।

अनुसूची फारम र बसाइसराइमा समेत जन्ममिति त्यही रहेको उक्त गाउँपालिकाले पत्र पठाएको छ। गाउँपालिकाले २०७९ असारमा पीडितले उमेर घटाउँदै २०६२ जेठ १८ गते जन्मिएको जन्म दर्ताको प्रतिलिपि निकालेको पनि पत्रमा उल्लेख गरेको छ ।

नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि सन्दीपलाई प्रहरीले गत २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी हिरासतमा राखेको थियो। सन्दीप हाल केन्द्रीय कारागार सुन्धारामा रहेका छन् ।

प्रतिक्रिया