लियो क्लब जिल्ला परिषद्को दोस्रो बैठक थाहा नगरमा, पर्यटन प्रवर्धनमा टेवा पुग्ने

पालिका डायरी
११ पुष २०७९

हेटौंडा / लियो क्लब अफ पिस थाहाको आतिथ्यतामा लियो क्लब जिल्ला परिषद ३२५ एम नेपालको दोश्रो जिल्ला परिषद् बैठक थाहा नगरमा हुने भएको छ ।

थाहा नगरको जेसीज हलमा आगामी पुस १५ र १६ गते परिषद् बैठक आयोजना हुने कार्यक्रम संयोजक कमल बिष्टले बताउनुभयो । बैठकमा जिल्ला परिषद ३२५ एम अन्तरगत २४ क्लबका सयौंका संख्यामा युवाहरु र अतिथिहरुको सहभागिता रहने संयोजक बिष्टले बताउनुभयो ।

उहाँका अनुसार सहभागहिरुलाई आवास र खानाको राम्रो प्रवन्ध भएको र थाहा नगरका पर्यटकीय स्थानहरुको परिचय सहित भ्रमणको ब्यवस्था समेत गरिएको बताउनुभयो । यसले थाहा नगरको पर्यटकीय क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिष्टले बताउनुभयो ।

अंग्रेजी नयाँ बर्ष २०२३ को पूर्वसन्ध्यामा हुने बैठकमा उत्कृष्ट क्लब र क्लबका सदस्यहरुलाई पुरस्कृत गरिनुका साथै पिस परेड, स्थानीय कला संस्कृतिको प्रदर्शनी र पर्यटकीय स्थलहरुको दृश्यावलोकनका कार्यक्रमहरु पनि राखिएको लियो क्लव अफ पिस थाहा नगर सन् २०२२–०२३ का अध्यक्ष निशा बिष्टले जानकारी दिनुभयो ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण थाहा नगरमा परिषद् बैठकको आयोजना हुन लागेकोले सहभागीहरुलाई यस क्षेत्रको पर्यटकीय ज्ञानको हिसावले पनि यो बैठक बिशेष अवसर हुने कार्यक्रमका उपसंयोजक रोसनी गोपालीले बताउनुभयो । उहाँले बैठकमा सहभागी हुन आउँदा चिसो मौसम र हिउँ पर्ने संभावना भएकोले न्यानो कपडाको साथ आउन अनुरोध समेत गर्नुभयो ।

लायन्स क्लव अफ पिस थाहाको सौजन्यमा पाँच बर्ष अघि स्थापित सो क्लवले यस अघिपनि जिल्ला परिषद् बैठकको सफलतापूर्वक आतिथ्यता गरिसकेकोे छ ।

प्रतिक्रिया