हेटौंडा–१८ मा नवनिर्मित बर्थिङ सेन्टर सञ्चालनमा

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नं.१८ को रामधुनी स्थित हर्नामाडी स्वास्थ्य चौकीमा नवनिर्मित बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । शनिवार हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले बर्थिङ सेन्टर उद्धाटन गरेकी छन् ।
गोर्खा लाहरी प्रालिको आर्थिक सहयोगमा बनेको बर्थिङ सेन्टरको ४ कोठे भवनको शिलान्यास २०७९ श्रावण २५ गते हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बानियाँले गरेका थिए । लाहरीको सामाजिक उत्तरदाहित्व बहन कार्यक्रम अन्तर्गत ३० लाख आर्थिक सहयोगमा भवन तथा वर्थिङ सेन्टरलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको लाहरीका प्रशासन प्रमुख प्रभाकर भण्डारीले बताए । भवनको शिलान्यास गर्दै मेयर लामाले बर्थिङ सेन्टर निर्माण पछि हेटौंडा १७ र १८,बकैया ६ र मकवानपुगढी १ का स्थानीयलाई थप सहज हुने बताईन् । लामाले स्वास्थ्य सेवा लिनको लागि अव टाँढा धाइरहनुपर्ने अवस्था हटेको बताईन् ।
त्यसैगरी हेटौंडा–१८ का वडाअध्यक्ष अनिल बानियाँले भवनको निर्माण पछि स्वास्थ्य चौकिलाई मिनि अस्पतालको रुपमा विकास गर्दै एमबिबिएस डाक्टरसहितको सेवा दिईने समेत बताए । बानियाँले सबै स्वास्थ्य सेवा उपचार आफ्नै वडामा लिन मिल्ने पहल गर्ने समेत बताए ।
उद्धाटन कार्यक्रममा गोर्खा लाहारी प्रा.लि. का सञ्चालक बजरंग सिह तवर , उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल , निवर्तमान अध्यक्ष नवराज अर्याल , लगायत वडाका सदस्यहरुको उपस्थिती रहेको थियो ।