विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार प्रधानलाई

पालिका डायरी
९ पुष २०७९, १६:५९
विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार प्रधानलाई

हेटौंडा / भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान नेपालले विजुली माया वनः संगीत राष्ट्रिय पुरस्कार २०७९ वरिष्ठ गायक, सङ्गीतकार, लेखक तथा निर्देशक डा. किरण प्रधानलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानले २०६४ सालमा स्थापना भएको विजुली माया वन अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारद्वारा भीम विरागको स्मृती दिवसको अवसरमा प्रधानलाई सम्मान गर्न लागेको हो ।

हेटौंडाका कुशल व्यवसायी, सङ्गीतप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी ममतामयी आमाको नामबाट स्थापना गरेको उक्त पुरस्कारको राशी १ लाख रुपैया रहेको छ । आगामी माघ १५ गते हेटौंडामा सांगितिक कार्यक्रमको आयोजना गरी प्रधानलाई पुरस्कार प्रदान गर्ने प्रतिष्ठानले शनिबार जानकारी दिएको छ । प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यका अनुसार २०१० सालमा काठमाडौंमा जन्मिएका प्रधानको के सोचें मैले के भयो अहिले, छातीमा मेरो यो छोटो भोटो, भुल हो तेरो भागी हिँड्नु जीवनदेखि, रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो, पत्थरको मुटु बोकेर मान्छे तिमी नबनिदे, अभागी आमा कुन देशमा, विपना नभई बाँचिदिने म भित्रका मेरा सपनालगायत ४ सय बढी गीतहरुमा स्वर दिएका छन् ।

यस अघी विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट २०६४ सालमा अम्बर गुरुङ, २०६५ मा प्रेमध्वज प्रधान, २०६६ मा भक्तराज आचार्य, २०६७ मा फत्तेमान राजभण्डारी, २०६८ मा शान्ति ठटाल, २०६९ मा प्रकाश श्रेष्ठ, २०७० मा दीप श्रेष्ठ, २०७१ मा न्हुच्छे बहादुर डंगोल, २०७२ मीरा राणा, २०७३ कर्म योञ्जन, २०७४ चेतन कार्की, २०७७ मा दावा ग्याल्मो र २०७८ मा दीपक जङ्गम पुरस्कृत भइसकेका छन् ।

वरिष्ठ कलासाधक कवि एवम् गीतकार भीम विरागको व्यक्तित्वप्रति सम्ममान स्वरुप भाषा साहित्य र कला क्षेत्रको संरक्षण एवम् संवर्धन गर्ने उद्देश्यले २०५९ सालमा स्थापना भएको प्रतिष्ठानले साहित्य संगीत साँस्कृतिक र कला क्षेत्रमा १२ वटा पुरस्कारको व्वस्थापन गर्दै आएको छ । शनिबार मात्र ६ जना व्यक्तित्वलाई ६ विधाको पुरस्कारद्वारा सम्मान गरेको प्रतिष्ठानले अन्य विधाको पुरस्कार चाडै घोषणा गरी प्रदान गर्ने बताइएको छ ।

प्रतिक्रिया
320373291_676976234083741_481473688585125454_n