मकवानपुर प्रहरीले ४६ बिघा १६ कट्ठा जमिनमा लगाइएको गाँजा र अफिम खेती गर्‍यो नष्ट

पालिका डायरी
२ पुष २०७९, १६:२०
मकवानपुर प्रहरीले ४६ बिघा १६ कट्ठा जमिनमा लगाइएको गाँजा र अफिम खेती गर्‍यो नष्ट file photo

मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिकाअन्तर्गत ४६ बिघा १६ कट्ठा जमिनमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ। प्रहरीले त्यहाँ तीन बिघा पाँच कट्ठा जमिनमा लगाइएको अफिम खेतीसमेत नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुवै गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको सो खेती नष्ट गरिएको हो। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि गाँजा खेती नष्ट गर्ने अभियानअन्तर्गत सो परिमाणमा गाँजा खेती र अफिम खेती नष्ट गरेको बताइएको छ। उक्त अभियानअन्तर्गत लगातर चार दिन लगाएर प्रहरीको विभिन्न संयुक्त टोलीले गाँजा र अफिम नष्ट गरेको थियो।

प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटेको प्रहरी निरीक्षक कञ्चन राजचलको नेतृत्वमा नौ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठको नेतृत्वमा ३८ तथा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्णराज ढकालको नेतृत्वमा ३६ जना गरी ८३ जनाको प्रहरी टोलीले सो अवैध गाँजा तथा अफिम खेती नष्ट गरेको थियो।

भौगोलिक विकटता र यातायात असुविधाका कारण प्रहरी प्रशासनको पहुँच हुन नसक्ने भएकाले सो खेती त्यस क्षेत्रमा हुने गरेको छ। अझै धेरै बाँकी नै रहेको अनुमान रहेको छ।

प्रहरीले प्रत्येक वर्ष सो खेती नष्ट गर्ने अभियान चलाए पनि गाँजा र अफिम खेती बन्द नभएको स्थानीयहरुको भनाइ छ। यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले मकवानपुर जिल्लामा वर्षौँदेखि हुँदै आएको गाँजा र अफिम खेती अभियान चलाएर नष्ट पार्ने बताए।

प्रतिक्रिया