बागमतीको मुख्यमन्त्री बन्न रस्साकस्सी, लामा भन्छन् – मुख्यमन्त्री दिने सर्तमा प्रदेशमा आएको हुँ

पालिका डायरी
२२ मंसिर २०७९
बागमतीको मुख्यमन्त्री बन्न रस्साकस्सी, लामा भन्छन् - मुख्यमन्त्री दिने सर्तमा प्रदेशमा आएको हुँ

बागमती प्रदेशमा सत्ता गठबन्धनको स्पष्ट बहुमत छ । प्रत्यक्षतर्फका ६६ सिटमध्ये कांग्रेसले २५, माओवादीले १४ र एकीकृत समाजवादीले ५ सिट जितेका छन् । अर्कोतर्फ एमालेले १३, राप्रपाले ७ सिट जितेका छन् । नेमकिपा र हाम्रो नेपाली पार्टीले १–१ सिट जितेका छन् ।

सत्ता गठबन्धनलाई सरकार बनाउन समानुपातिकबाट १२ सिट ल्याए पुग्छ । सत्ता गठबन्धनको बहुमत पुग्ने भएपछि प्रदेशको मुख्यमन्त्री पनि गठबन्धन दलबाटै हुने निश्चित छ । तर गठबन्धनमा रहेका दलहरूमध्ये पनि कुन पार्टीले मुख्यमन्त्री पाउने भन्ने चर्चा अहिले निकै चुलिएको छ ।

जसका कारण गठबन्धनभित्र मुख्यमन्त्रीको रस्साकस्सी सुरु भएको छ । कांग्रेसबाट बागमती प्रदेश सभापति एवं पूर्व राज्यमन्त्री इन्द्र बानियाँ प्रमुख दाबेदार छन् । प्रदेशसभाको अघिल्लो कार्यकालको अन्तिमतिर सत्ता गठबन्धनबीच मुख्यमन्त्री दिने लिखित सहमति भए पनि कार्यान्वयन नभएपछि उनी वञ्चित भएका थिए । जसलाई आधार मान्ने हो भने पनि अबको मुख्यमन्त्री बानियाँले नै पाउने निश्चित छ । निर्वाचित भएको प्रमाण पत्र लिने बेला पनि उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू नै मुख्यमन्त्रीको दाबेदार रहेको बताएका थिए । प्रदेशको सभापति भएको नाताले पनि नेपाली कांग्रेसको एक्लो दाबेदार र गठबन्धनको पनि बहुमतमा आफू मुख्यमन्त्री हुने बताएका थिए ।

तर पछिल्लो समय नेपाली कांग्रेसबाट बागमतीको मुख्यमन्त्रीमा नुवाकोटका बहादुर सिंह लामाको नामले चर्चा पाइरहँदा बानियाँको मुख्यमन्त्री बन्ने सपना पुनः दोस्रो पटक पनि फेल खाने त होइन, भन्ने विश्लेषण सुरु भएको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षमा ७ सिट मात्र जितेको नेपाली कांग्रेस यस पटक बागमती प्रदेशमा सबैभन्दा ठूलो दल बनिरहँदा मुख्यमन्त्री को हुने भन्ने विषय यतिखेर कांग्रेसमा बहसको विषय बनेको छ ।

बागमती प्रदेश सभापति तथा मकवानपुर २ ख बाट निर्वाचित इन्द्रबहादुर बानियाँलाई भावी मुख्यमन्त्रीका रूपमा कांग्रेसले चर्चा गरिरहँदा एकाएक मुख्यमन्त्रीमा बहादुर सिंह लामाको प्रवेशलाई कांग्रेस संस्थापन र शेखर कोइराला पक्षधरले पनि सकारात्मक लिएपछि लामा अब मुख्यमन्त्रीको दौडमा बलिया पात्र बनेका छन् ।

दुई पटक कांग्रेस केन्द्रीय सदस्य रहेका, संविधानसभा सदस्य र प्रतिनिधि सभा सदस्यको समेत अनुभव लिइसकेका लामा मंसिर ४ को निर्वाचनमा प्रदेशतर्फ लाग्नु मुख्यमन्त्री बन्नकै लागि हुनसक्ने राजनीतिज्ञहरू बताउँछन् । नवनिर्वाचित प्रदेश सभा सदस्य लामा कांग्रेसका मुख्यमन्त्रीमा सर्वाधिक चर्चामा रहेका छन् ।

लामा भने संघमा टिकटको भाग नपुगेकोले केन्द्रबाट नै आफूलाई प्रदेशमा पठाएको बताउँछन् । ‘म नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि हो । यसलाई पनि आधार मान्नु पर्छ,’ उनले भने, ‘म दुई पटकसम्म संघीय सांसद भैसकेको मान्छे पनि हुँ । मेरो इच्छा फेरि केन्द्रमै जाने थियो । तर सत्ता गठबन्धनलाई भाग पुर्‍याउन पर्ने भएपछि मलाई केन्द्रीय नेताले नै प्रदेशमा उठ्नु मुख्यमन्त्री दिउँला भन्नुभएको अनुसारले मैले प्रदेश सभामा उम्मेदवारी दिएको हुँ । मलाई लाग्छ, सबैभन्दा धेरै मतान्तरले विजयी हुने पनि म मात्रै होला यो प्रदेशमा । यस कारण पनि अहिले संसदीय दलको नेता म नै हुन्छु भन्नेमा दुई मत छैन ।’

अघिल्लो कार्यकालमा ६/६ महिना मुख्यमन्त्री खाने लिखत सहमति हुँदा पनि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पद नछोडेपछि दोस्रो कार्यकाल इन्द्रबहादुर बानियाँलाई दिने सहमति भएको थियो, त्यसैले उहाँ नै संसदीय दलको नेता हुने चर्चा छ नि भन्ने हाम्रो प्रश्नमा लामाले भने, ‘म उहाँको मिल्ने साथी पनि हुँ । जस कारण मैले उहाँको बारेमा बोलिरहन पर्ला जस्तो लाग्दैन । तर यो संसदीय दलको नेताको विषयमा भने हामीले भन्ने भन्दा पनि केन्द्रकै निर्णयलाई मान्ने हो । अघिल्लो कार्यकालमा के भयो भन्नुभन्दा पनि आगामी समयले के बताउँछ, त्यसलाई नै मान्नुको विकल्प छैन ।’

उनका अनुसार बागमती प्रदेशको मुख्यमन्त्री दिने केन्द्रको सर्त अनुसार प्रदेशमा उम्मेदवारी दिएका हुन् । संसदीय दलको नेता आफै बन्नेमा विश्वस्त रहेका लामा भावी मुख्यमन्त्री आफै हुने र हुनुपर्ने दाबी गर्छन् ।

नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित लामा १७ हजार दुई सय ४९ मत ल्याएर विजयी भएका हुन् । २०७४ मा प्रतिनिधिसभा सदस्यमा समानुपातिक प्रणालीबाट सांसद भएका तामाङ २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोष्टबहादुर बोगटीलाई पराजित गर्दै संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

फरकधारबाट साभार 

प्रतिक्रिया