रवि नेतृत्वको रास्वपा मकवानपुर सभापति न्यौपानेलाई कारबाहीको माग

पालिका डायरी
१८ मंसिर २०७९
रवि नेतृत्वको रास्वपा मकवानपुर सभापति न्यौपानेलाई कारबाहीको माग

राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई आफ्नै कार्यकर्ताले कारबाहीको माग गर्दै केन्द्रीय कार्यालयमा उजुरी गरेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर सभापति न्यौपानेमाथि चुनावमा कांग्रेसका नेतासँग ‘सेटिङ’ गरेर आफ्नै पार्टीको उम्मेदवार हराएको नेता कार्यकर्ताले आरोप लगाएका हुन् ।

सभापति न्यौपानेलाई कारबाहीको माग गर्दै स्वतन्त्र पार्टीका बागमती कोषाध्यक्ष तथा मकवानपुर– १ का उम्मेदवार समेत रहेका टाकाराज थापा ‘सुरेश’ नेतृत्वको टोलीले हस्ताक्षर अभियान चलाएको खुलेको छ । पार्टीका ४७ जना नेता कार्यकर्ताले हस्ताक्षर गरेर मंसिर १२ गते नै केन्द्रीय कमिटीमा इमेलमार्फत पत्र पठाइएको छ ।

न्यौपानेले स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार नुरमान प्रजालाई लिएर नेपाली कांग्रेसका बागमती प्रदेश सभापति एवम् क्षेत्र नम्बर २ ‘२’ का उम्मेदवार इन्द्रबहादुर बानियाँको घरमा गएर विभिन्न प्रलोभनमा पारेको पत्रमा उल्लेख छ । सेटिङबारे आफूहरूसँग प्रमाण रहेको र प्रमाणसहित केन्द्रीय समितिमा इमेल गरिएको सुरेशको दाबी छ ।

न्यौपानेले अन्य पार्टीको उम्मेदवारको घरमा नै पुगेर आफूहरूको समानुपातिक उम्मेदवारलाई चुनावको तीन दिनअघि भेटाउँदा क्षेत्र नम्बर २ मा प्रत्यक्ष उठेका भरत पराजुली पराजित भएको सुरेशको भनाइ छ । केन्द्रीय कार्यालयमा पठाएको पत्रमा जिल्ला सभापति न्यौपानेलाई कारबाही नगरे सबै सदस्यहरूले पार्टी छाड्ने चेतावनी दिइएको छ ।

यता, आरोपित सभापति भने आफूलाई लगाइएको आरोप सत्य नभएको बताउँछन् । उनले भने, ‘मैले निर्वाचन पछि समीक्षा बैठक बोलाएको थिएँ । तर अहिले नै बस्न पर्दैन भन्ने अभिव्यक्तिहरू पनि आए । मलाई कांग्रेस सभापति इन्द्रबहादुर बानियाँ सँग मिलेर हाम्रा उम्मेदवारलाई हराउन लागेको आरोप लगाएका छन् । तर कुरा त्यस्तो होइन । हाम्रो पार्टीले प्रदेशमा उम्मेदवार उठाएको थिएन । गलत प्रचार भयो ।’

न्यौपानेका अनुसार आरोप लगाउने टाकाराज थापाले समानुपातिकमा सिफारिस भएकी एक महिलालाई अभद्र व्यवहार गरेको भन्ने कुरा छलफलमा आफूले उठाउँदा त्यसको बदला लिने हेतुले आरोप लगाएको दाबी गरेका छन् ।

प्रतिक्रिया
rajkumar