विरोध खतिवडा : चार पटक सूर्यले जितायो, कलम रोज्दा सूर्यले नै हरायो

पालिका डायरी
१७ मंसिर २०७९
सांसद विरोध खतिवडा मन्त्री बन्दै file photo

मकवानपुरको राजनीतिमा प्रत्येक निर्वाचनमा विजयी भइरहने नेताको नाम हो विरोध खतिवडा । ०७४ साल अघिका निर्वाचनहरूमा नेकपा एमालेका उम्मेदवार खतिवडा अत्यधिक मत ल्याएर विजयी भइरहेका थिए । तर मंसिर ४ को निर्वाचनमा उनी पाँचौँ पटमा पराजित भएका छन् ।

चार पटकसम्म एमालेको सूर्य चिन्हले जितिरहेका उनलाई यस पटक भने कलमले साथ दिएन । सत्ता गठबन्धनबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र २ बाट उम्मेदवार बनेका उनलाई गठबन्धनकै मत कम आयो । अन्ततः उनलाई सूर्य चिन्हले नै पराजित गरिदियो । एकीकृत समाजवादीका नेता तथा पूर्व स्वास्थ्य मन्त्री समेत रहेका खतिवडा पराजित भएसँगै उनको संसदीय यात्रामा तगारो लागेको छ ।

खतिवडा नेकपा एमालेका महेश कुमार बर्तौलासँग फराकिलो मतान्तरले पराजित भएका हुन् । क्षेत्र नम्बर २ मा खसेको ८६ हजार ६ सय ५२ मतमा बर्तौलाले ३४ हजार ९ सय १६ मत प्राप्त गर्दै विजयी भएका हुन् । खतिवडाले ३० हजार ३ सय ९६ मत प्राप्त गरेका छन् । बर्तौला र खतिवडाको ४ हजार ५ सय २१ मतान्तरको फरक परेको छ ।

फापेन कलम
संसद विगठन भएसँगै माधव नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीमा समाहित भएका खतिवडालाई निर्वाचनमा कलम चुनाव चिन्ह भने फापेन । तत्कालीन नेकपा एमालेमा रहँदा ४ पटकसम्म सूर्य चिन्हले सांसद बनिसकेका खतिवडालाई पार्टी परिवर्तन पछिको पहिलो निर्वाचनले झड्का लगाइदिएको छ ।

पाँच दलीय गठबन्धन हुँदा पनि एक्लै निर्वाचनमा होमिएको एमालेसँग पराजयको सामना गर्नपर्ने उनको एक प्रकारको ‘व्याडलक’ पनि हो । सूर्यले सधैँ जिताइरहेको उनलाई कलम नफापेको हो कि भन्ने चर्चा छ ।

सूर्य त्याग्दा सूर्यसँगै पराजय
संसद विगठन हुनु अघि नेकपा एमालेको सूर्य चिन्हबाट प्रत्येक निर्वाचनमा विजयी भइरहेका खतिवडा यस पटको संघीय निर्वाचनमा सूर्य चिन्हबाटै पराजित हुन परेको छ । संसद विगठन पनि माधव नेपाल पक्षको नेकपा एकीकृत समाजवादीमा समाहित भएका थिए । हालै सम्पन्न निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार बनेका उनलाई गठबन्धनकै मतदाताको पनि मत नआएकै कारण पराजय हुन परेको प्रक्षेपण पनि सुरु भएको छ ।

खतिवडालाई भारी मतान्तरले पराजित गर्ने बर्तौला विरोधले नै राजनीति सिकाएका चेला हुन् । विद्यार्थी काल देखि नै खतिवडासँग राजनीतिमा प्रवेश गरेका बर्तौलाले उनकै गुरुलाई पराजित गरेका हुन् ।

संसदको यात्रामा ब्रेक
पटक पटक विजयी भएर सांसद देखि मन्त्री सम्म बनिसकेका खतिवडाको सांसद यात्रा रोकिएको छ । सधैँ जितिरहने हेभीवेट उम्मेदवारले आफ्नो साख जोगाउन सफल नभएको विषयले चर्चा पाइरहेको छ ।

मकवानपुर क्षेत्र नम्बर २ का हेभीवेट नेता पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा कहिल्यै पराजित नहुने नेताको नामले जिल्लामा स्थापित नाम हुन् । नेकपा एमालेका नेताको रूपमा परिचित खतिवडालाई आगामी निर्वाचनमा आफ्नो साख जोगाउन मुस्किल पर्नुको एउटा कारण हो, पार्टी परिवर्तन । खतिवडा ५ पुस २०७७ मा संसद विगठन भएपछि नेकपा एमाले छोडेर एकीकृत समाजवादीमा लागेका थिए ।

४ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका खतिवडाको पाँचौँ उम्मेदवारी सहितको यात्रामा ब्रेक लागेको हो । २०४८, २०५१ र २०५६ र २०७४ को निर्वाचनमा मकवानपुर–२ बाट निर्वाचित भएका थिए । तत्कालीन नेकपा एमालेका बलियो नेताको रूपमा लगातार उम्मेदवार बनिरहेका उनलाई जनताको साथ पनि उत्तिकै मिलेको थियो ।

खतिवडा २०४८ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट जितेका थिए । सो निर्वाचनमा खतिवडाले १६ हजार ८६९ मत ल्याएर नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ लाई पराजित गरेका थिए । त्यस्तै, २०५१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उनी १६ हजार १ सय ४४ मत पाएर निर्वाचित भए । उनीसँग राप्रपाका कमल थापा, कांग्रेसकी डिना र स्वतन्त्र उम्मेदवार विश्वराज उप्रेती प्रतिस्पर्धामा थिए ।

खतिवडाको निकटतम प्रतिद्वन्द्वी राप्रपाका थापाले ११ हजार ८ सय ७८ मत पाउँदा कांग्रेसकी डिनाले ३ हजार ७९२ र स्वतन्त्र उम्मेदवार उप्रेतीले ४ हजार ८६६ मत पाएका थिए । २०५६ मा भएको आम निर्वाचनमा खतिवडा मकवानपुर–२ बाटै उम्मेदवार बनेका थिए । सो निर्वाचनमा खतिवडाले राप्रपाका दीपक सिंहलाई हराउँदै १८ हजार २ सय ८१ मतसहित चुनाव जित्दा राप्रपाका सिंहले १५ हजार ९ सय १ मत प्राप्त गरेर पराजित हुन परेको थियो ।

त्यसपछि २०७४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा पनि मकवानपुरको क्षेत्र नम्बर बाट नै खतिवडाको उम्मेदवारी रह्यो । लगातार तीन पटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्य बनेका उनको २०७४ को निर्वाचनमा पनि उम्मेदवारी दिने मौका पाए ।

सो निर्वाचनमा पनि मकवानपुर क्षेत्र– २ का लागि एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवार बनका उनले चौथो पटक पनि सफलता हात पारे । उनी ४६ हजार ४ सय ८१ मतका साथ निर्वाचित भएका थिए । गत वर्ष मात्रै खतिवडाले ३० वर्षपछि मन्त्री बन्ने अवसर पाए । कोरोना महामारी चलिरहेको चुनौतीपूर्ण स्थितिमा खतिवडाले ८ महिना स्वास्थ्य मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी समेत सम्हालिसकेका थिए । यो निर्वाचनमा २० हजार मतान्तरले विजयी हुन्छु भन्ने अभिव्यक्ति दिँदै आएका खतिवडाको बाधक उनकै चेला एमालेका बर्तौलासँग झण्डै ५ हजार मतान्तरको हाराहारीमा पराजित हुन परेको हो ।

प्रतिक्रिया