मकवानपुरमा मतगणना सुरु

पालिका डायरी
५ मंसिर २०७९

हेटौंडा / मकवानपुर जिल्लाको मतगणना सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको शिद्धार्थ माध्यमिक बिद्यालयमा मतगणना सुरु भएको हो । दुइ वटा प्रतिनिधीसभा र चार वटा प्रदेशसभाको मतगणना आठ वटा कोठामा एकै पटक नतिजा आउनेगरी तयारी थालिएको छ ।
प्रतिनिधीसभाको दुइ क्षेत्रको चार वटा कोठामा र चार वटा प्रदेशसभाको अरु चार वटा कोठामा मतगणना गरिने मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो ।

तारजाली भित्र मतगणना सुरु गरिएको छ । बाहिर भने उम्मेदवारका प्रतिनिधी राखिएको छ । निकै सुरक्षित तरिकाले मतगणना भइरहेको छ ।
आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी मतदान प्रक्रियामा जिल्लाका कुल मतदातामध्ये आधाभन्दा बढीले मतदान गरेका छन् । मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले ५९ प्रतिशत मत खसेको जानकारी दिए । २०७४ को निर्वाचनमा मकवानपुरबाट ६५ प्रतिशत खसेको थियो ।
मकवानपुरमा ३ लाख ७ हजार ३३ मतदाता छन् । जसमा १ लाख ५३ हजार ५ सय २८ पुरुष, १ लाख ४७ हजार २ सय महिला र अन्य ५ जना छन् । तर, कुल मतदाताको आधाले मात्रै मतदान गरेका हुन् ।

यसवर्षका निर्वाचनमा मतदाता संख्या बढेपनि जिल्लामा पाँच वर्षपछि मत दिनेहरु ६ प्रतिशतले घटेका हुन् । आमनिर्वाचन–०७९ मा कुल एक लाख ७८ हजार २ सय ८२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
जसमध्ये मतदान गर्नेमा पुरुष ९२ हजार ८ सय ७७ जना, महिला ८५ हजार ४ सय जना र अन्य ५ जना रहेका छन् । मकवानपुरको दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ६० जना भन्दा बढी उम्मेदवार प्रतिस्पर्धाको मैदानमा थिए ।
मतदान सकिएसँगै जिल्लाका सबै मतदान केन्द्रबाट मतगणनाका लागि मतपेटिकाहरु सदरमुकाम हेटौँडा ल्याउने क्रम जारी छ । मतगणना हेटौँडा–२, स्थित सिदार्थ माविबाट गरिँदैछ । मतगणना स्थलमा तारजाली र सिसिक्यामेरा जडान गरेर मतगणनाका लागि तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया