सत्ताको लागि कमल थापा राप्रपा छोडेर कमरेड बनेः दिपक सिंह
हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार दिपकबहादुर सिंहले पार्टीका पूर्व अध्यक्ष कमल थापा सत्तामा पुग्नको लागि राप्रपा छोडेर कम्युनिष्ट बनेको आरोप लगाएका छन् ।
हेटौंडा-१३ , रमनथलीको चुनावी सभामा बोल्दै सिंहले राजसंस्था पुनःस्थापनाको एजेन्डा बोकेका थापाले पार्टीको महाधिवेशनमा पराजित भएपछि राप्रपासंगै राजसंस्थाको एजेन्डा त्यागेर सत्तामा पुग्न कै लागि एमाले रोजेको आरोप लगाए ।
उनले थापाले पुनः स्थापना गरेको राप्रपा नेपालबाट चुनाव लड्न नसक्ने भएपछि कमरेड बनेर एमालेबाट चुनावी मैदानमा उत्रिएको समेत बताए ।
यसैगरी, सिंहले आफ्नो प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार महालक्ष्मी डिना उपाध्ययबाट केहिपनि आस गर्न नसकिने विचार पुनः दोहोराएका छन् । सिंहले दुई पटक समानुपातिकबाट सांसद र एक पटक मन्त्री भैसकेकी डिनाले क्षेत्र नंबर १ को लागि केहि पनि काम नगरेको बताउँदै डिनाबाट केहिपनि आस गर्न नसकिने दाबी गरे ।
सिंहले आफु जनतासँगको गठबन्धनमा रहेको उल्लेख गर्दै यसपटकको निर्वाचनमा निर्वाचित हुने दाबी समेत गरेका छन् ।