दुईवटै गठबन्धनका उम्मेदवारलाई भारी पर्लान् राप्रपाका दीपक सिंह ?

सुनिता बिष्ट
हेटौंडा / मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा निर्वाचनको माहोलले यतिबेला रौनकता छाएको छ । निर्वाचन आउन लगभग दुई हप्ता मात्रै बाँकी रहँदा उम्मेदवारहरु हारजितको त्राससँगै आफ्नो एजेण्डा बोकेर जनताको घरदैलो कार्यक्रममा व्यस्त छन् । जसरी भएपनि आफू बलियो साबित गर्ने र आफ्ना प्रतिस्पर्धीलाई कमजोर बनाउने क्रियाकलापहरु बढिरहेका छन् । २ वटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ मा कसले बाजी मार्ला भन्ने सबैको चासोको बिषय बनिरहेको छ ।
२०७४ सालको निर्वाचनमा एकले अर्कालाई सघाएका उम्मेदवारहरु बीचमै प्रतिस्पर्धा हुने भएकोले पनि मकवानपुर १ को चर्चा चुलिएको छ । त्यती मात्रै होइन प्रतिनिधि सभा सदस्यका लागि १६ जनाको उम्मेदवारीमध्ये गठबन्धनबाट निर्वाचनमा होमिएकाहरुलाई एक्लै निर्वाचनमा होमिएकासँग नै भारी पर्ने आकंलन पनि उत्तिकै छ । लोकतान्त्रिक वाम गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मि उपाध्याय ‘डिना’ र नेकपा एमाले तथा राप्रपा नेपालको गठबन्धनबाट साझा उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको जितको तगारो राप्रपाका उम्मेदवार दीपक सिंह बन्न सक्ने आकंलन चुलिन थालेको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिको मेयर पदमा उम्मेदवार बनेका सिंहले राम्रो मत प्राप्त गरेकै कारण सत्ता गठबन्धनमा रहेका उम्मेदवारहरुलाई गबन्धनका उम्मेदवारहरु भन्दा पनि सिंह सँगको भीडन्त चुनौती पूर्ण हुने देखिन्छ । गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा मात्रै सिंहले २० हजार ५ सय ३१ मत ल्याएर तेस्रो बनेका थिए । दोस्रोमा रहेको एमालेका उम्मेदवार अनन्त पौडेल भन्दा ३ सय मत मात्रै कम पाएका सिंहले राप्रपाको मात्रै नभई गठबन्धनमा रहेका र एमालेकै मत तानेको राजनीतिज्ञहरुको दावी छ ।
हेटौंडामा मात्रै होइन मकवानपुरमै जनाधार कम रहेको राप्रपाको स्थानीय तहको मतलाई बिश्लेषण गर्दै दीपक सिंहलाई आएको भोट काट्ने प्रयासमा वाम गठबन्धनकी उम्मेदवार डिना र एमाले–राप्रपा नेपाल का उम्मेदवार कमल थापाको छ । ‘‘राजनीतिक दलसँगको गठबन्धन नभएपनि मकवानपुरे जनतासँग मेरो गठबन्धन रहेकै कारण गठबन्धनका प्रतिस्पर्धीलाई हराउने तागत अझैपनि सेलाएको छैन । जतिवटा दल मिलेर आएपनि जनताको मनबाट नजिक भनेको एउटै नाम छ, त्यो हो दीपक सिंह, त्यसैले पनि मलाई गठबन्धनसँग डर लागेकै छैन, सिंहले भने ।’’
कमल थापालाई चुनौती बन्दै सिंह
यता, सूर्य चिन्ह लिएर निर्वाचनमा होमिएका कमल थापा एमाले जिल्लाको ठुलो दल भएकै कारण एमाले मतदाताकै सहयोगमा प्रतिनिधिसभा सदस्य बन्ने सपना सजाउँदै निर्वाचनमा होमिएका छन् । बर्षौदेखि एउटै मूलधारमा रहेर राजनीति गरेका थापा र सिंहको प्रतिस्पर्धा रोचक बन्ने निश्चित छ । त्यसोत, राजनीतिक विचलनमा परेर कमल थापाले नयाँ पार्टी व्युझाएका कारण आफ्नै पूराना सहकर्मीहरुले साथ छोडेका उनलाई एमाले कार्यकर्ताले साथ देलान् नदेलान् भन्ने शंका पनि छ । एमालेको शान स्थापित राख्ने जिम्मा ग्रहण गरेका थापा मकवानपुरका सफल उम्मेदवार भने होइनन् ।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन राप्रपा अध्यक्षसमेत रहेका थापालाई पराजित गर्दै एमालेका कृष्णप्रसाद दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । दाहालले ५ हजार ९ सय ७३ मतान्तरले थापालाई हराएका हुन् । दाहालले ४० हजार ६ सय ३१ मत प्राप्त गर्दा थापाले भने ३४ हजार ६ सय ५८ मत मात्रै पाएका थिए । यसपटकको निर्वाचनमा भने जित्नकै लागि सूर्य चिह्नबाट चुनाव लड्न लागेको प्रतिक्रिया दिँदै आएका थापालाई वाम गठबन्धनको साझा उम्मेदवार डिना र राप्रपाका उम्मेदवार सिंहसँगको चुनौती टार्न सकस देखिन्छ । आफ्नो पार्टीको मतदाता संख्या कम तथा अर्का पार्टीको भरमा निर्वाचनमा होमिएका थापालाई एक्लै भएपनि लोकप्रिय मत ल्याएकै आधारमा थापालाई सिंह भारी पर्न सक्ने देखिन्छ ।
वाम गठबन्धलाई पनि सिंहकै डर
त्यसोत वाम गठबन्धनलाई पनि राप्रपाका उम्मेदवार सिंह चुनौती बनिरहेका छन् । जित हार जस्को भएपनि सिंह मत काट्न सक्ने बलिया उम्मेदवार हुन् । मकवानपुर १ मा एकलौटी ढंगबाट मत तान्न सक्के क्षमता भएको नेपाली कांग्रेस, एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जसपा लगाएत पार्टीकी साझा उम्मेदवार डिनालाई चुनावमा भारी पर्न सक्छन् सिंह । नेपाली कांग्रेस मकवानपुरकी बलियो नेतृको रूपमा परिचित डिनाको पोल्टामा चुनावी सफलता भने पर्न सकेको छैन ।
२०४८ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेकी उनी तत्कालीन समयमा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन् । २०५१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उनी खतिवडासँगै पराजित भइन् । २०५६ मा भएको आमनिर्वाचनमा उनी उम्मेदवार बनिनन् । २०७४ सालमा भएको निर्वाचनमा पनि डिना पुनः एक पटक खतिवडासँगै पराजित हुन पुगिन् । अघिल्ला निर्वाचनहरूमा हार व्यहोर्न परे तापनि आगामी प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनबाट जित्ने बताउँदै आएकी उनलाई सिंहसँगको चुनौतीले जटिलता थपिदिएको छ । स्थानीय तहको निर्वाचनमा पनि सिंहको इन्ट्रिले रोमाञ्चक बनेको चुनावी माहोल मंसिर ४ को निर्वाचनमा अझ रोचक हुने देखिन्छ ।
मकवानपुरको क्षेत्र नम्बर १ मा हेटौंडा उपमहानगरपालिकाको १९ मध्ये १५ वटा वडा पर्छन् भने बकैया गाउँपालिका, बागमती गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका चार वटा वडा पर्छन् ।
